Aarthikaina

पोखरा । पोखरा महानगरपालिका वडा नं.३० को शिशुवादेखि सातमुहानेसम्मको सडक स्तरोन्नति गर्नका लागि विश्व बैंकले एक अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । सडक स्तरोन्नतिका लागि विश्व बैंकका अधिकारीहरुले मंगलबार एक अर्ब रुपैयाँ स्वीकृत गरेका हुन् ।

यो सडक स्तरोन्नति गर्न पोखरा महानगरपालिकाको दुई महिनाअघि सम्पन्न कार्यपालिका बैठकले सहयोग माग्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम महानगरले विश्व बैंकसँग सहयोग मागेको थियो । त्यसपछि विश्व बैंकका प्रतिनिधिले सो सडकको अनुगमन गर्दै स्थानीय र सरोकारवालासँग छलफल गरेको थियो ।

Manakamana Cable Car

पोखरा ३० का वडाध्यक्ष दुर्गा सुवेदीले मंगलबार सहयोग रकम स्वीकृत भएको विश्व बैंकका प्रतिनिधिले टेलिफोनमार्फत जानकारी गराएको बताए । अब छिट्टै सडक स्तरोन्नतिको प्रक्रिया अघि बढ्ने र बढीमा एक वर्षभित्रमा काम सम्पन्न गरिने वडाध्यक्ष सुवेदीले बताए ।

यस सडकका लागि आफ्नै पहलमा महानगरको कार्यपालिका बैठकले निर्णय गरेको र विश्व बैंकसम्म प्रस्ताव पुगेको उनले बताए । स्तरोन्नति गर्ने भनिएको सडकको अधिकांश भाग वडा नं.३० मा पर्छ भने केही भाग वडा नं.३२ पनि पर्छ । यस सडक खण्ड अहिले निकै जीर्ण छ ।

सातमुहानेसम्म सडक स्तरोन्नति भएपछि रुपा गाउँपालिका हुँदै लमजुङ जानेलाई निकै सजिलो पर्नेछ । जसले पृथ्वी राजमार्गको चापलाई कम गर्नेछ । रुपा गाउँपालिकातर्फको सडक यसअघि नै कालोपत्र र स्तरोन्नति भइसकेको छ । गण्डकी प्रदेश सरकारले रुपा गाउँपालिकाको पहलमा रुपा हुँदै लमजुङ जोड्ने सडकको स्तरोन्नति तथा कालोपत्र गरेको थियो ।

गाउँपालिकापट्टिको सडक स्तरोन्नति र कालोपत्र भएपछि शिशुवादेखि सातमुहानेसम्मको सडक पनि स्तरोन्नति गर्नका लागि स्थानीयले दवाव दिँदै आएका थिए । विश्व बैंकले सहयोग गरेपछि अब यो सडक पनि ६ लेनमा नै स्तरोन्नति हुने बताइएको छ ।

हाल विश्व बैंककै सहयोगमा पृथ्वीराजमार्गको तालचोकदेखि बेगनासताल बसपार्कसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ । यो सडक फुटपाथसहित ६ लेनको बन्दैछ ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  २२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update