Aarthikaina
नाडा अध्यक्षमा सर्वसम्मत भए करण चौधरी

काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संगठन अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्ष करण चौधरी बन्ने भएका छन् । सोमबार नाडाका वर्तमान अध्यक्ष ध्रुव थापा र पूर्व अध्यक्ष सहितको व्यापक छलफल पश्चात चौधरीलाई अध्यक्ष बनाउने सहमति भएको हो ।

सहमति अनुसार अध्यक्षका अर्का आकांक्षी आकाश गोल्छा अर्को कार्यकालमा अध्यक्ष बन्ने छन् भने अर्का आकांक्षी प्रकाश कपुरी पनि ब्याक भएका छन् । उनलाई पनि आगामी कार्यसमितिमा समेटिने छ भने अन्य पदहरु पनि सहमतिमै बनाउने प्रयास हुनेछ ।

यो भन्दा पहिले वर्तमान अध्यक्ष ध्रुव थापा निर्वाचनबाटै चुनिएर आएका थिए । त्यतिबेला करण चौधरी समेत उम्मेदवार थिए । अहिले पनि निर्वाचन हुने अवस्था बन्दै गएको अवस्थामा धेरैले सहमति हुनु पर्ने आवाज उठाइरहेका थिए ।

Manakamana Cable Car

अटोमोबाइल व्यवसाय हाल कठिन अवस्थामा रहेको र मन्दी छाएको समयमा निर्वाचनमा होमिनु उपयुक्त नभएको धेरैको भनाइ थियो । सहमतिले व्यवसायीहरुमा खुसी ल्याएको देखिएको छ । नाडाको ४७ औं साधारणसभा आगामी पुस २० र २१ गते हुँदैछ ।

नाडालाई अझ ठूलो उचाइमा लैजाने छु  – करण चौधरी

संस्थाको गर्व र प्रतिष्ठा बढाउन नाडामा भएको सहमतिले विशेष योगदान गरेको अध्यक्षमा सर्वसम्मत भएका करण चौधरीले बताएका छन् । ‘सहमतिले नाडाको गर्व र प्रतिष्ठा बढाउने काम भएको छ,’ उनले भने ।

नाडा सदस्यहरुलाई एक सन्देश दिंदै उनले लेखेका छन्, ‘अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै नाडाले एकीकृत कार्यसमिति गठन गर्नु अपरिहार्य छ । विद्यमान चुनौतिहरूले चुनावी प्रक्रिया मात्र नभई एकताको माग गर्दछ ।

हाम्रा सदस्यहरूको दिगोपन र समग्र रूपमा अटोमोटिभ ब्यवसायीका लागि हाम्रो सामूहिक शक्ति महत्वपूर्ण छ । मलाई विश्वास छ कि यो समाचारले उत्साह ल्याउँछ, र म यो रोजिएको बाटोमा लाग्दा प्रत्येक सदस्यको समर्थन खोज्छु ।

हाम्रा आदरणीय अग्रजहरूको आशीर्वाद र सबै सरोकारवालाहरूको समर्थनले, म नाडालाई अझ ठूलो उचाइमा लैजान प्रतिबद्ध छु । यस प्रयासमा तपाईंको समर्थन अमूल्य छ, र म हाम्रा सामु रहेका चुनौतीहरूलाई सम्बोधन गर्न सहयोगी रूपमा काम गर्न तत्पर छु ।’

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update