
काठमाडौं । काभ्रेको पनौती नगरपालिका र रोशी गाउँपालिकामा गत असोज दोस्रो साता आएको बाढी पहिरो प्रभावित क्षेत्रको नेपाल चेम्बर अफ कमर्श (एनसीसी) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीले अनुगमन गरेका छन् । उक्त प्रभावित क्षेत्रमा चेम्बर र युएनडीपीले गरेको सहयोगबाट भएका पुर्ननिर्माण र जिविकोपार्जनसम्बन्धमा दुबै संस्थाले संयुक्त रुपमा अनुगमन गरेका हुन् ।
चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र युनडीपीका तर्फबाट आवसीय प्रतिनिधि कायको युकोशुको नेतृत्वमा गएको टोलीले सहयोग अनुदान कार्यन्वयन प्रगतिबारे संयुक्त अनुगमन गरेको थियो । पनौती नगरपालिका र रोशी गाउँपालिका क्षेत्रमा बाढी तथा पहिरोले पुर्याएको जनधनको क्षति एवं जिविकोपार्जनका लागि गत पुसमा चेम्बर र युएनडीपीबीच सहकार्यको सम्झौता भएको थियो । बाढी पहिरो प्रभावित क्षेत्रमा पुर्ननिर्माणका लागि नगद कार्यक्रम तथा जलवायु अनुकुलनन सहकार्यको प्रगति सम्बन्धमा संयुक्त अनुगमन गरिएको चेम्बरले जनाएको छ ।
चेम्बरका अनुसार बाढी पहिरो प्रभावित क्षेत्रमा भएको नगद कार्यक्रम अन्तर्गत सिंचाई नहर, सामुदायिक सडकहरु, नाली निर्माण, कृषि जमिनमा माटो, ढुंगा, काठ आदिको सरसफाई गरी स्थानीय भौतिक पूर्वाधार निर्माणको काम भईरहेको छ । यसबाट स्थानीय रोजगारी समेत सिर्जना भएको छ । प्राकृतिक प्रकोपजन्य अवस्थामा समुदायको क्षमता अभिवृद्धिका लागि सहकार्य एवं जलवायु परिवर्तन न्यूनीकरण र अनुकुलका साथै जोखिम न्यूनीकरणमा भएको प्रगतिबारे स्थलगत अनुगमन गरिएको चेम्बरले उल्लेख गरेको छ ।
बाढी पहिरो प्रभावित क्षेत्रमा भईरहेको काम सन्तोषजनक रहेको र आगामी दिनमा पनि निक्षी क्षेत्रको तर्फबाट सहयोग एवं सहकार्य जारी रहने चेम्बरका अध्यक्ष अग्रवालले जनाएका छन् । चेम्बरका वरिष्ठ उपाध्यक्ष दिपक कुमार मल्होत्राले चेम्बर र युएनडीपीको सहयोगले बाढी पहिरो प्रभावित क्षेत्रमा पूर्वाधार निर्माण र जिविकोपार्जनमा उल्लेख्य उपलव्धी हासिल भएको बताए ।
युएनडीपीका आवासीय प्रतिनिधी कायको युकोशुले चेम्बरसंगको सहकार्यमा बाढी प्रभावित क्षेत्रमासहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । चेम्बर र युएनडीपीले गरेको सहयोगबारे भएको प्रगतिको अनुगमनको स्थानीय तहका जनप्रतिनिधीको सहभागिताका साथै काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई पनि कार्य प्रगतिको बारेमा जानकारी गराईएको थियो ।