
काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्सले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न आइतबार एनआइएमबि एस क्यापिट र इन्स्योरेन्सबीच सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उज्वल ढुङ्गाना र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाद्वारा हस्ताक्षर गरिएको छ । इन्स्योरेन्सले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ रकम बराबरको कूल २२ लाख ५० कित्ता साधारण शेयरहरु प्रति शेयर अंकित मूल्य सयका दरले सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो ।
न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु बीमा सेवा पुर्याउने लक्ष्य लिई इन्स्योरेन्सले २०८० कात्तिक १२ गते निर्जीवन लघु बीमाको इजाजतपत्र प्राप्त गरी लघु निर्जीवन बीमा कम्पनीको हैसियतले सोही सालको चैत १ गतेदेखि लघु निर्जीवन बीमासम्बन्धी कारोबार सञ्चालन गर्दै आईरहेको छ ।