
काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडलाई ४-० गोलअन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर सिटीको जितमा ओमार मारमौसले ह्याट्रिक पूरा गर्दा जेम्स म्याकाटीले एक गोल गरेका थिए । खेलको १९औँ मिनेटमा ओमारले गोल गर्दै म्यानचेस्टर सिटीलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको २४औँ मिनेटमा ओमारले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर पारेका थिए ।
खेलको ३३औँ मिनेटमा अर्को गोल गर्दै ओमारले ह्याट्रिक पूरा गरेका थिए । १४ मिनेटभित्र ओमारले ह्याट्रिक पूरा गरेपछि म्यानचेस्टर सिटीले पहिलो हाफमै ३-० को अग्रता लिन सफल भयो ।
खेलको ८४औँ मिनेटमा जेम्स म्याकाटीले गोल गरेपछि म्यानचेस्टर सिटी न्युक्यासल युनाइटेडमाथि ४-० गोलअन्तरको सानदार जित निकाल्न सफल भयो । जितसँगै म्यानचेस्टर सिटी २५ खेलबाट ४४ अंकका साथ लिगको चौथो स्थानमा उक्लिएको छ ।
पराजित न्युक्यासल युनाइटेड भने समान खेलबाट ४१ अंकका साथ लिगको सातौँ स्थानमा छ । शीर्ष स्थानमा रहेको लिभरपुलको भने २४ खेलबाट ५७ अंक छ ।