Aarthikaina
श्रीपञ्चमीमा निलसरस्वती पहिलो महोत्सव 

लामो समयदेखि सुषुप्त अवस्थामा रहेको सरस्वती पुजनको ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई पुनःजागृत गर्ने उद्देश्यले माघ २० र २१  गते दुई दिने  निल सरस्वती स्थान महोत्सव गरियो । दाँतले नछोई आख्य (सिङ्गो, नटुक्रिएको चामलको गेडा) निल्यो भने शिक्षा छिटो आर्जन हुन्छ भन्ने जनविश्वास छ, श्रीपञ्चमीका दिन । श्री पञ्चमीका दिन सरस्वती वा मञ्जुश्री स्थानमा अक्षराम्भ प्रारम्भ गराईनाले बाल बच्चाले सजिलै पढ्न सक्ने परम्पारगत मान्यता पाईन्छ । यहि  मान्यतालाई संस्थापनार्थ टुकुचा टोल सुधार समितिका अध्यक्ष प्रविण श्रेष्ठको संयोजकत्वमा ब्यवस्थित तरीकाबाट सरस्वती महोत्सव भएको थियो । एक दिन अगाडि २० गते सरस्वती मातालाई तेल लगाईदिएपछि २१ गते अक्षराम्भको भव्य मेला लाग्ने परम्परानुसार काठमाडौं उपत्यकाका विभिन्न मञ्जुश्री तथा सरस्वती स्थानहरुमा शैक्षिक मेला भर्नेहरुको भिड लाग्यो । यहि परम्परालाई अझै परिष्कृत र ब्यवस्थित गर्दै लान यसै वर्षदेखि टुकुचा संरक्षण खोला सुधार उपभोक्ता समिति परिवारले पहिलो पल्ट निलसरस्वतीस्थानमा मेला महोत्सवको आयोजना थालेको सचिव दिनेश तुलाधरले बताए ।

एक आख्यानुसार, काठमाडौं उपत्यकाको पानी महाचिनबाट आई मञ्जुश्री र उनकी अर्धाङिगनी सरस्वतीले साँखुकी खड्गयोगिनीको आज्ञाअनुसार चोभार ह्रासिकापबाट पठाईसकेपछि सुकेको जमिनमा स्वयम्भुदेखि प्राचिन गुह्येश्वरी वालाजुसम्म बस्ती विस्तार भएको र यसै क्रममा लाजिम्पाटको टुकुचा खोला किनारमा पनि कविलाको रुपमा बस्ती विस्तार हुदै गएको बताईन्छ । लिच्छविकालिन बस्ती शङकश्यनगरी विशाल नगरको अन्तिम सिमाना निल सरस्वतीस्थानको ऐतिहासिक सभ्यता सकोना अर्थात नेपाल भाषामा साँखुबाट आई बसाईएको तल्लो बस्तीको लुप्त ईतिहासलाई उजागर गर्दै लान यो महोत्सवको थालनी भएको हो । त्यहि दिनको स्मरणसहित श्री पञ्चमीका दिन उपत्यकाका अन्य मञ्जुश्री र सरस्वती स्थानमा जस्तै गरी साखोना महोत्सवको रुपमा नै मेला भर्ने परम्पारा थालेको बताईन्छ ।

Berger Paints Nepal
City Express - Money Transfer
NLG Insurance

मल्लकालमा शक्तिका उपाशक अर्थात नारी शक्तिका पक्षधर नक्साल विहार (शङखधरकृत विहार) अमर वाँडा(शाक्य) र शक्तिका विरोधी शंकराचार्यबीच शास्त्रार्थ हुँदा यहि निल सरस्वती माताले अदृश्य आधारमा साथ दिई शक्त्तिका उपासक अमर वाडाँलाई जिताईदिएको बताईन्छ । यी र यस्ता थुप्रै लोपोन्मुख ईतिहास आख्यानहरुको उत्खनन् गर्दै जाने र प्राचिन निलसरस्वती स्थानको सम्पदाको प्रवर्द्धन गर्दै लाने उदेश्यबाट निल सरस्वती महोत्सव  भएको हो । महोत्सवमा स्थानीय स्कुल विद्यालयहरुले आ-आफ्नो स्कुलबाट स्टल र भर्ना डेक्स ल्याई महोत्सवस्थलबाटै नि:शुल्क भर्ना, लायन्स क्लब लाजिम्पाटबाट प्रसाद वितरण, विद्यार्थीहरुलाई नाचगान, भाषण कला प्रस्तुति, हास्यव्यङग्य तथा खुल्ला सांगेतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

बसन्ती पञ्चमी ऋतुराज प्रारम्भ 
ऋतुराज वसन्त प्रारम्भ भएकोले यस दिनलाई वसन्त पञ्चमीपनि भनिन्छ । अन्य देशमा वर्षमा चार वटा मात्र ऋतु हुन्छन् तर नेपालमा विविध हावापानीयुक्त ६ ऋतु (वसन्त, गृष्म, वर्षा, शरद, हेमन्त, शिशिर ) छन । वसन्तु ऋतुलाई नयाँ पालुवा पलाउने सिजन ऋतु नयाँ वर्षका रुपमा पनि लिईन्छ । यसै दिनदेखि उपत्यकामा वसन्त म्ये हालेगु अर्थात् वसन्त ऋतुको गीत सिलाथ्व पञ्चमीदेखि चिलाथ्व पून्ही (फागुन पूर्णिमा)सम्म गाइन्छ । राष्ट्रप्रमुखबाट हनुमानढोकाभित्र नासलचोकमा बसन्त श्रवण गर्ने परम्परा पनि छ, मैत्रीगणसहित बसन्त गीत गाउनाले प्रकृति, राष्ट्रप्रमुख र जनताबीचको सद्भाव कायम रहि देशमा शान्ति अमनचैन कायम रहिरहन्छ भन्ने मान्यता पाईन्छ ।

आख्यानअनुसार ल्हासाबाट आएका मञ्जुश्रीले, साँखु वज्रयोगिनीको आज्ञामुताविक चोभारको गल्छीबाट पानी बाहिर पठाएपछि उपत्यकालाई मानव बस्तीयोग्य बनाएको हो । यस भनाईबाट हामीले के बुझ्न सकिन्छ भने काठमाडौं उपत्यकामा पहिलो मानब वस्ती हालको ईण्डियाबाट होईन की चाईनाबाट प्रवेश भएको हो र यसै दिनको स्मरणमा मञ्जुश्री र सरस्वतीको स्मरण गर्दै विद्याकी देवी सरस्वती र बस्ती निर्माणका देवता मञ्जुश्रीको  पुजा परम्परा थालिएको हो । यहि तथ्यलाई पुनःजागृत गर्न प्रविन श्रेष्ठको संयोजकत्वमा पहिलो पल्ट महोत्सव थालिएको काठमाडौं महानगरपालिका वडा नं.२ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले स्पष्ट पारे । 

काठमाडौं उपत्यकामा बस्ती विस्तारको प्रारम्भ भएको दिनसमेतको सम्झनास्वरूप स्वयम्भू मञ्जुश्रीस्थान, ललितपुरको लेले सरस्वतीकुण्ड र भक्तपुरको ल्हासापाको सरस्वतीस्थान, मध्यपुरको लोहँन्किथली, फर्पिङको बज्रयोगिनीस्थित सरस्वती स्थानमा जस्तै लाजिम्पाटको नील सरस्वतीमा मेला लाग्ने परम्परा छ । विद्याकीदेवी सरस्वती, मञ्जुश्रीलाई एकै स्वरूपमानी देशभर सरस्वती पूजा स-साना नानीलाई अक्षरारम्भ गराइन्छ भने चित्रकार नेवारमा चित्र लेख्ने थालनी हुन्छ ।

देखाः (तन्त्रविधि) लिएकाले समयज्वलँः (माछा–मासु, जाँड–रक्सी, चिउरा–अण्डा )ले  पुज्छन् भने अन्यले धुप दिप, फलफुल मिठाई चढाएर बिद्याकी देवीलाई अभिनन्दन गर्दछन् । काठमाडौं उपत्यकाको पानी बाहिर पठाईसकेपछि बस्ती विस्तारको श्रीगणेश भएको पनि दिन श्रीपञ्चमी भएकोले यस दिन उपत्यकाको विभिन्न स्थानमा भव्य मेला हुँदै आईरहेको हो । विद्याकी देवी सरस्वतीस्थानमा अघिपछि पनि पढ्न विदेश जान चाहनेहरु र जानु अघि पुजा जाने गरेको पाईन्छ भने घरपुजा गर्दादेखि परीक्षा अगाडि नम्वर धेरै आओस भन्ने कामना गर्न पनि निल सरस्वतीस्थानको पुजा हुने गर्दछ ।

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update