
काठमाडौं । किलियन एमबाप्पेले रियल मड्रिडलाई घरेलु मैदानमा हारबाट जोगाएका छन् । शनिबार राती भएको मड्रिड डर्बीमा रियल मड्रिडले एट्लेटिको मड्रिडसँँग १-१ गोलको बराबरी खेल्दा किलियन एमबाप्पेले गोल गरेका थिए ।
सान्तियागो बार्नाबेउमा ७८ हजार समर्थकमाझ जुलियन अल्भारेजले खेलको ३५ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । किलिएन एम्बाप्पेले खेलको ५० औं मिनेटमा गोल फर्काउँदै रियललाई हारबाट जोगाएका हुन् ।
जुड बेलिङघमको हेडर क्रसबारमा लाग्दा रियल मड्रिडले दोस्रो गोलको खोजी जारी राख्यो। एट्लेटिको मड्रिडका गोलकिपर जान ओब्लाकले रोड्रिगो, भिनिसियस जुनियर र एमबाप्पेको प्रहार रोक्दै अंक दिलाएका थिए ।
बराबरीपछि रियल मड्रिड ५० अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट ४९ अंकको एट्लेटिको मड्रिड दोस्रो स्थानमा रह्यो । खेल जितेको अवस्थामा एट्लेटिकोलाई शीर्ष स्थानमा उक्लने अवसर थियो । एक खेल कम खेलेको बार्सिलोना ४५ अंकसहित तेस्रो स्थानमा छ ।