Aarthikaina
चर्च ब्वाइजलाई हराउँदै एनआरटीले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि

सुनसरी । धरानमा शनिबार सम्पन्न २५ औं संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि न्युरोड टिम (एनआरटी) ले जितेको छ । ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै एनआरटीले उपाधि हात पारेको हो ।

खेलको २४ औं मिनेटमा चर्च ब्वाइजका लागि अनन्त तामाङले फ्रिकिक मार्फत गोल गरेका थिए । यस्तै, २७ औँ मिनेटमा एनआरटीका लागि हेनरी एडिसे पोकोले गोल गर्दै बराबरको अवस्थामा पुर्याएका थिए । पहिलो हाफ १-१ गोलको बराबरीमा टुंगिएको थियो ।

Berger Paints Nepal
City Express - Money Transfer
NLG Insurance

खेलको ५८ औं मिनेटमा एनआरटीकै हेनरी एडिसे पोकोले अर्को गोल गर्दै जित सुनिश्चित गरे । योसहित एनआरटीले तेस्रोपटक बुढासुब्बा गोल्डकपको उपाधि चुमेको छ ।

खेलको म्यान अफ द म्याच एनआरटीका हेनरी पोको घोषित हुँदै नगद १० हजार पुरस्कार प्राप्त गरे । सर्र्वोत्कृष्ट खेलाडीका रुपमा एनआरटीका शिशिर लेखी पुरस्कृत भए । उनले नगद एक लाख पुरस्कार प्राप्त गरे ।

सर्वाधिक गोलकर्ता चर्च ब्वाइजका खेलाडीद्वय समीर तामाङ र अर्माण्ड भिदोङ घोषित भए । समान ३ गोल गरेका उनीहरूलाई नगद ३५ हजार पुरस्कार प्रदान गरियो ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक एनआरटीका प्रमिजय गच्छदार, उत्कृष्ट प्रशिक्षक एनआरटीका हरिओम श्रेष्ठ, उत्कृष्ट फरवार्ड चर्च ब्वाइजका समीर तामाङ, उत्कृष्ट डिफेन्डर चर्च ब्वाइजका पदम भट्टराई, उत्कृष्ट मिडफिल्डर चर्च ब्वाइजका रोहन कार्की घोषित भए । उनीहरूलाई जनही नगद २५ हजार पुरस्कार प्रदान गरिएको थियो ।

खेलको विजेता न्युरोड टिम (एनआरटी)ले नगद १० लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र हात परेको छ भने उपविजेता चर्च ब्वाइज युनाइटेडले पाँच लाखमा चित्त बुझायो ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  ०६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update