काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी पूर्वस्ट्राइकर अनु लामाले घरेलु फुटबल खेलबाट बुधबार सन्यासको घोषणा गरेकी छन् । करिब ६ वर्षअघि अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएकी ३७ वर्षीय अनुले विभागीय टोली एपिएफबाट घरेलु फुटबल भने खेल्दै आएकी थिइन् ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न एन्फा महिला लिग फुटबलको फाइनल खेलमा उनले एक गोल गरेकी थिइन । उनको टिम एपिएफले नेपाल पुलिस क्लबलाई ४–० ले पराजित गर्दै उपाधि जितेको छ ।
एपिएफका खेलाडीले उनलाई गार्ड अफ द अनरबाट सम्मान गर्दै बिदाइ गरेको छ । अनुले सन् २०१० मा बङ्गलादेशविरुद्ध दक्षिण एसियाली खेलकुद (साग)को महिला फुटबल प्रतियोगितामा नेपाली यु-२३ टोलीमा डेब्यू गरेकी थिइन ।
अनुले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेकी थिइन । उनले साफ च्याम्पियनसीप लगायतका विभिन्न प्रतियोगितामा राष्ट्रिय जर्सीबाट ३५ अन्तर्राष्ट्रिय गोल गरेकी छन् ।