काठमाडौं । नेपाल पुलिस क्लबमाथि ४-० काे सहज जित हासिल गर्दै एपिएफ क्लब एन्फा राष्ट्रिय महिला लिगको च्याम्पियन बनेको छ ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा एपिएफलाई च्याम्पियन बनाउन सविता रानामगरले दुई गोल तथा सरु लिम्बु र अनु लामाले समान एक/एक गोल गरे । सबै गोल दोस्रो हाफमा सम्भव भएका हुन् ।
लिगको पहिलो खेलमा पुलिससँग गोलरहित बराबरी खेलेको एपिएफ त्यसपछिका १८ खेलमा शतप्रतिशत जित निकाल्दै च्याम्पियन बनेको हो । पुलिसविरुद्ध एपिएफको यो लगातार तेस्रो जित रह्यो ।
एपिएफले खेलको ६४औं मिनेटमा डेढलक तोड्यो । सरु लिम्बुले राइट साइडबाट सरुले दिएको क्रसलाई सविताले वान टचमा गोल गरिन् । पाँच मिनेटपछि सरुको गोलमार्फत एपिएफले अग्रता दाेब्बर बनायाे । मिडफिल्डर रेनुका नगरकोटेको हेडर पोलमा लागेर फर्किएपछि प्राप्त रिबाउन्डको फाइदा सरुले उठाएकी हुन् । सरुको प्रहारले दोस्रो बारको जाली चुमेको थियो ।
निर्धारित समय सकिन सात मिनेट बाँकी छँदा प्रीति राईको थ्रु पासमा सविताले अर्को गोल थपिन् । सवीताको लोअर प्रहारले पनि दोस्रो बारको जाली चुमेको थियो ।
इन्जुरी समयमा वैकल्पिक खेलाडी अनुले गोल गर्दै एपिएफको ४-० को सहज जित पक्का गरिन् । उनी ८७औं मिनेटमा रेनुका नगरकोटेको स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।