काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत एलिमिनेटरको खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । कर्णालीले अब फाइनल प्रवेशका निम्ति दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्स वा सुदूरपश्चिम रोयल्समध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायर खेल आज दिउँसो १ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ । यस खेलको विजेता टोली भने प्रतियोगिताको फाइनमा पुग्नेछ ।
आज कर्णाली याक्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको चितवन राइनोज निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५४ रनमा समेटियो । हारसँगै प्रतियोगिताबाट बाहिरिएको चितवन राइनोजले चौथो स्थान सुनिश्चित गरेसँगै १५ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।
चितवनका लागि रवि बोपाराले सर्वाधिक ५३ रनको योगदान दिए । उनले ३४ बल खेल्दै तीन चौका र चार छक्काको सहयोगमा ५३ रन बनाएका हुन । त्यसैगरी कप्तान कुशल मल्लले २१ रन बनाए भने विपिन रावलले १८ रन जोडे । लुक बेनकिस्टेनले १६ रन बनाए भने शरद भेषवाकरले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
बलिङतर्फ कर्णाली याक्सका जिसन मोक्सुदले तीन विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले समान दुई/दुई विकेट लिए । त्यस्तै विपिन शर्माले एक विकेट झारे । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १७५ रनको योगफल बनाएको थियो ।
कर्णालीका लागि जयकिसन कोल्सावालाले सर्वाधिक ५३ रनको योगदान दिए । उनले ३९ बलमा छ चौका र दुई छक्काको सहयोगमा ५३ रन बनाएका हुन् । त्यसैगरी विल बसिस्टोले ५२ रन बनाउँदा चाडविक वाल्टनले अविजित ४६ रन जोडे । त्यस्तै जिसन मक्सुदले १४ रन बनाए ।
चितवनका लागि सोहिल तन्वीरले दुई विकेट लिए भने शरद भेषवाकर, कुशल मल्ल र रवि बोपाराले समान एक/एक विकेट लिए । यसअघि भएको लिग चरणको खेलमा पनि कर्णाली याक्सले चितवन राइनोजलाई पराजित गरेको थियो ।