काठमाडौं । नेपाल चेम्बर अफ कमर्श(एनसीसी) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीबीच दिगो विकास एवं निजी क्षेत्रको क्षमता अभिवृद्धिका लागि सहकार्य भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल र युएनडीपीका कार्यबहाक आवासीय प्रतिनिधि जुलिएन चेभिलार्डले उक्त सहकार्यको सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
निजी क्षेत्रको क्षमता अभिवृद्धि, जलवायु परिवर्तन अनुकुलन, विपद व्यवस्थापन एवं युनडिपीले तय गरेका विकास लक्ष्यलाई पुरा गर्न सहकार्य गर्ने गरी हस्ताक्षर भएको नेपाल चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । प्राकृतिक प्रकोपजन्य अवस्थामा समुदायको क्षमता अभिवृद्धिका लागि सहकार्य गर्ने विषय पनि सम्झौतामा समावेश गरिएको छ । जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलका साथै जोखिम न्यूनीकरण गर्नेबारे समेत प्रतिवद्धता जनाईएको छ ।
चेम्बर अफ कमर्स र युएनडीपीबीच भएको सहमति तत्कालै कार्यन्व्यनमा आउने छ । राष्ट्रसंघीय एजेन्सीसंग निजी क्षेत्रको क्षमता अभिवृद्धि, विपद् व्यवस्थापनको पूर्वतयारी र प्रतिकार्यबारे सहकार्य गर्नु निजी क्षेत्रका लागि महत्वपूर्ण भएको चेम्बर अध्यक्ष अग्रवालले बताए ।
युएनडीपीका कार्यबहाक आवासीय प्रतिनिधि चेभिलार्डले दिगो विकासका लागि राष्ट्रसंघीय लक्ष्यहरु पूरा गर्न चेम्बरसंग सहकार्य गर्न पाउदाँ खुसी लागेको बताए । नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको र प्राकृतिक विपद्बाट बच्नका लागि चेम्बरसंग गरिएको सहकार्य अति नै महत्वपूर्ण भएको उनले बताए । निजी क्षेत्रको कार्यक्षमता विकास गरी देशको समग्र आर्थिक गतिविधि विस्तारमा टेवा पुग्ने चेभिलार्डले बताए । नेपालको हिमालहरुलाई जोगाउन तथा जलवायु परिवर्तनविरुद्ध चेम्बरसँग आगामी दिनमा पनि सहकार्य गरेर अघि बढ्ने उनको भनाई छ ।