काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनामा काठमाडौंमा अन्तर्राष्ट्रिय प्रतियोगिता हुने भएको छ । संघका कोषाध्यक्ष तिलक पाण्डेले दिएको जानकारी अनुसार डिसेम्बर २३ देखि २६ तारिखसम्म नेपाल इन्टरनेशनल च्यालेन्ज २०२४ आयोजना हुने भएको हो ।
यो प्रतियोगिता सकिएको भोलिपल्टैदेखि नेपाल इन्टरनेशनल जुनियर प्रतियोगिता आयोजना हुनेछ । वर्ल्ड ब्याडमिन्टन र ब्याडमिन्टन एशियाको प्रायोजन र राष्ट्रिय खेलकुद परिषद् राखेपको सहयोगमा हुन लागेको प्रतियोगितामा नेपालसहित २२ देशका खेलाडीले सहभागिता जनाउने छन् । उक्त प्रतियोगितामा नेपालसहित भारत, बंंगलादेश, अमेरिका, क्यानडासहित २२ देशले सहभागिता जनाउने कोषाध्यक्ष पाण्डेले जानकारी दिए ।
दुबै प्रतियोगिताका महिला र पुरुष खेलाडीलाई पुरस्कार प्रदान गर्दा मात्रै १५ हजार डलर खर्च हुनेछ । सिङ्गल्स र डबल्सका विजेताले १२ सय डलर प्राप्त गर्दा उपविजेताले सात सय २०, सेमिफाइनल पुगेकाले तीन सय र क्वाटरफाइनलमा पुगेकाले एक सय २० डलर पुरस्कार पाउने छन् ।