काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । चितवन राप्ती नगरपालिका घर भई ललितपुर बस्ने ४४ वर्षीय धिरेन्द्र चौधरी, धनुषाधाम नगरपालिका घर भई काठमाडौं बस्ने ३६ वर्षीय राजकुमार महरा र मकवानपुर ईन्द्रसरोबर गाउँपालिका घर भई काठमाडौं बस्ने ३२ वर्षीय चन्द्र ब्लोनलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये धिरेन्द्रले क्यानडा पठाइदिन्छु भन्दै एक जना पीडितबाट तीन लाख ४८ हजार रूपैयाँ, राजकुमारले कुवेत पठाइदिन्छु भन्दै एक जनाबाट एक लाख ९० हजार रूपैयाँ र चन्द्रले माल्टा पठाइदिन्छु भन्दै एक जनाबाट एक लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएका थिए ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले धिरेन्द्रलाई ललितपुरबाट र राजकुमारलाई काठमाडौंबाट बिहीबार र चन्द्रलाई काठमाडौंबाटै शुक्रबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जनाइएको छ ।