Aarthikaina
एनपीएल: एनसेल बन्यो लुम्बिनी लायन्स क्लबको मुख्य प्रायोजक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)का लागि लुम्बिनी लायन्स क्लबले आफ्नो मुख्य प्रायोजकको रूपमा एनसेललाई स्वागत गरेको छ । हिल्टन होटल काठमाडौंमा आज आइतबार आयोजित कार्यक्रममा लुम्बिनी लायन्सले आफ्नो मुख्य प्रायोजक सार्वजनिक गरेको हो ।

मुख्य प्रायोजन सम्बन्धमा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जि.सी र एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा महानायक तथा लुम्बिनी लायन्सका ब्राण्ड एम्बेसडर राजेश हमाल, लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल, बेलायतका क्रिकेटर टम मुर्सलगायत अन्य अन्तर्राष्ट्रिय खेलाडीहरुको पनि उपस्थिति रहेको थिए ।

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

यो साझेदारीले लुम्बिनी लायन्स क्लबको आगामी सिजनमा थप ऊर्जा र उत्साह भर्ने अपेक्षा गरिएको छ । कार्यक्रममा लुम्बिनी लायन्सले एनपीएलमा लगाउने जर्सी पनि सार्वजनिक गरिएको छ ।

यस सहकार्यबारे बोल्दै लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले भने, ‘एनसेलजस्तो अन्तर्राष्ट्रियस्तरको एवम् नेपालकै अग्रणी निजी दूरसञ्चार सेवा प्रदायकसँग मुख्य प्रायोजकको रूपमा जोडिन पाउँदा हामी अत्यन्त आभारी छौँ । यो सहकार्यले नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पुर्याउने कुरामा हामी विश्वस्त छौँ । एनसेल जस्तो प्रतिष्ठित ब्रान्डको समर्थनले हाम्रो टोलीलाई अझ सशक्त बनाउने छ र नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने छ ।’

लुम्बिनी लायन्ससँगको सहकार्यका बारेमा उत्साह प्रकट गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘हामी नेपाली क्रिकेट र युवा प्रतिभाको विकासमा सधैं प्रतिबद्ध रहँदै आएका छौं र यो सहकार्य त्यसको एक ज्वलन्त उदाहरण हो । लुम्बिनी लायन्स क्लबसँगको यो साझेदारीले हाम्रो यस प्रतिबद्धतालाई अझ मजबुत बनाउने विश्वास गरेका छौं । ‘‘हामी तपाईंकै लागि’’ भन्ने हाम्रो थिममा आधारित रही नेपाली क्रिकेट जगतलाई थप उचाइमा पुर्याउने उद्देश्यका साथ लुम्बिनी लायन्ससँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं । हामी खेलकुदको विकास, युवा सशक्तीकरण र सामाजिक एकतामा योगदान गर्दै नयाँ उचाइमा पुग्न चाहन्छौँ ।’

त्यस्तै, यस क्रिकेट महोत्सवलाई सामाजिक कार्यसँग जोड्दै एनसेल फाउन्डेसनले हालै मात्र एनपीएलमा हानिने प्रत्येक चौका बराबर ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई चार वटा एजुकेशनल किट प्रदान गर्ने घोषणा गरेको छ । एनसेलले क्लबको मुख्य प्रायोजकको यो सहकार्यले नेपाली खेलकुदको क्षेत्रमा सकारात्मक प्रभाव पार्ने, नेपाली क्रिकेटको विकास गर्ने र युवा प्रतिभाको प्रोत्साहनमा ठोस योगदान पुर्याउने विश्वास लिएको जनाएको छ ।

एनपीएलमा लुम्बिनी लायन्सको पहिलो खेल बुधबार हुँदैछ । हिजो(मंसिर १५ गते) देखि शुरु भएको एनपीएल पौष ६ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान हुँदैछ । यो प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । टिम संख्याको सहभागिता र खेलको हिसावले पनि ठूलो भएकोले यो एनपीएलले अत्यधिक लोकप्रियता प्राप्त गरेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update