काठमाडौं । नेपालमा पहिलो पटक आयोजना भएको नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा जनकपुर बोल्टस् र विराटनगर किङ्स भिडेका थिए । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज शनिबार भएको उद्घाटन खेलमा जनकपुर बोल्ड्ससँग विराटनगर किङ्स पराजित भएको छ । जनकपुरले विराटनगरलाई आठ विकेटले पराजित गरेको हो ।
जितसँगै जनकपुरले दुई अंक जोडेको छ । जनकपुरसमक्ष विराटनगरले १२८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । तर, विराटनगर सुरु मै दबाबमा देखियो र उसले २२ रन अतिरिक्त खर्चियो । यो नै खेलमा जनकपुरको टर्निङ पोइन्ट बन्यो र जनकपुरले १५.३ ओभरमा दुई विकेट गुमाउँदै १३१ रन बनाएर सहज जित हात पार्यो । ओपनर तथा कप्तान अनिलकुमार साह पाँच र आसिफ शेख शून्य रनमै पेभिलियन फर्किएका थिए । तर, लाहिरू मिलान्थाले एकल इनिङ्स खेल्दै जनकपुरलाई जित दिलाए । ५३ बल खेलेका उनले ९ चौका र तीन छक्कासहित अविजित ७५ रन बनाए । उता, हर्ष ठाकेरले २९ रनको योगदान दिए । उनीहरूबीच तेस्रो विकेटका लागि ११६ रनको विशाल साझेदारी भएको थियो । विराटनगरका क्रिस सोल र प्रतीश जिसीबाहेक अन्य बलरले विकेट लिन सकेनन् । त्यसअघि मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनाएको थियो । विराटनगरले सुरुआत भने राम्रो गर्न सकेन ।
जनकपुरको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आशिफ शेख छन् । टोलीको कप्तानमा भने राष्ट्रिय क्रिकेट टोलीका अर्का महत्वपूर्ण खेलाडी विकेटकिपर अनिल शाह छन् । उनीहरुसँगै स्पीनर ललित राजवंशी रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापामगर, आकाश त्रिपाठी, शुभ कङ्साकर, शेर मल्ल र हेमन्त धामी छन् । जनकपुरको टोलीमा न्यूजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलङ्काका लाहिरु मिलन्था, पाकिस्तानका मोहमद मोहसिन खान र इङ्ल्याण्डका अलराउण्डर बेन माइक छन् ।
विराटनगर किङ्सको मार्की खेलाडी एवं कप्तान सन्दीप लामिछाने छन् । विराटनगरका कप्तान लामिछानेसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, राजेश पुलामी मगर, जीतेन्द्रकुमार मुखिया, अनिल खरेल, दीपक बोहरा, सुभास भण्डारी, नरेन भट्ट र मुनाल गुरुङ छन् । विदेशी खेलाडीमा ओमानका अकिब इल्यास, न्यूजील्याण्डका मार्टिन गप्टिल, क्यानडाका निकोलास किर्टन स्कट्ल्याण्डका क्रिस सोल र अफगानिस्तानका इस्मल आलम छन् ।