Aarthikaina
वर्ल्डलिङ्कमा फिनल्याण्डको एक करोड युरो लगानी, नेपालको हरेक कुनामा तीव्र इन्टरनेट पुर्याउने लक्ष्य

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक तथा देशकै अग्रणी आइसिटी कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडमा फिनल्याण्डको सरकारी फण्डिङ्ग कम्पनी फिनफण्डले एक करोड युरो (एक अर्ब ४२ करोड रुपैयाँभन्दा बढी) लगानी गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा फिनल्याण्डका वैदेशिक व्यापार तथा विकास मन्त्री भीले ट्याभियोको उपस्थितिमा वर्ल्डलिङ्कका अध्यक्ष दिलिप अग्रवाल र फिनफण्डको तर्फबाट वरिष्ठ लगानी प्रबन्धक कुट्टी किल्पेलेइनले लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । 

फिनफण्डको लगानी विद्यमान फाइबर नेटवर्क विस्तार गर्न प्रयोग गरिने वर्ल्डलिङ्क कम्युनिकेसन्सले जनाएको छ । वर्ल्डलिङ्कले नेपालमा झन्डै आधा जनसंख्या अझै पनि ब्रोडब्यान्ड इन्टरनेटको पहुँचबाट वञ्चित हुनुका साथै सहरी र ग्रामीण क्षेत्रमा उल्लेखनीय असमानता हटाउँदै विश्वस्तरीय डाटा सेन्टरले नेपालको कनेक्टिभिटीमा सुधार र आर्थिक वृद्धिलाई टेवा पुर्याउने जनाएको छ । 

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

सो अवसरमा फिनफण्डका किल्पेलेइनले भने, ‘वर्ल्डलिङ्कले नेपालको ग्रामीण क्षेत्र र दुर्गम गाउँमा आफ्ना सेवा विस्तार गरेर डिजिटल विभाजनलाई कम गर्ने दिशामा काम गरिरहेको छ भने डिजिटल पूर्वाधारमा फिनफण्डको लगानीले समुदायलाई छिटो, गुणस्तरिय भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउन खोजेको छ । फिनिश लगानीकर्ता भएकाले, हामी पक्कै पनि वर्ल्डलिङ्कले आफ्नो इन्टरनेट सेवा विस्तार गर्न उन्नत प्रविधि प्रयोग गर्छ भन्ने तथ्यलाई पनि महत्त्व दिन्छौँ ।’

कम्पनीका अनुसार फिनिश प्रविधि तथा उपकरण निर्माता नोकिया र वर्ल्डलिङ्कको सहकार्यले वर्ल्डलिङ्कका ग्राहकलाई समग्र इन्टरनेट अनुभवलाई भरपर्दो, तीव्रगतिको र थप विश्वसनीय बनाउने लक्ष्य राखेको छ । साथै, डाटा सेन्टर क्षेत्रमा वर्ल्डलिङ्कको विस्तारले वर्ल्डलिङ्कका ग्राहकलाई मात्र नभई अन्य इन्टरनेट सेवा प्रदायक, टेलिकम र सार्वजनिक तथा निजी क्षेत्रका संस्थालाई पनि फाइदा पुग्ने विश्वास लिएको छ । 

वर्ल्डलिङ्कका अध्यक्ष दिलीप अग्रवालले भने, ‘फिनफण्डको लगानी नेपालको हरेक कुनालाई तीव्र, भरपर्दो र किफायती इन्टरनेट नेटवर्कमा जोड्ने हाम्रो लक्ष्यमा एउटा महत्वपूर्ण कोसेढुङ्गा सावित हुनेछ । हाम्रो फाइबर नेटवर्क विस्तार, विश्वस्तरीय डाटा सेन्टर स्थापना, सहर र ग्रामीण भेगबीचमा देखिएको डिजिटल विभेद्लाई हटाउँदै देशभर डिजिटल रुपान्तरणलाई गति दिने लक्ष्य राखेका छौँ ।’ उनका अनुसार वर्ल्डलिङ्कले पाँच हजारभन्दा बढी व्यक्तिहरुलाई रोजगारी प्रदान गरेको छ । कम्पनीसँग नेपालमा ३५ प्रतिशत ब्रोडब्यान्ड बजार र नौ लाखभन्दा बढी परिवारमा पहुँच प्रदान गरेको जनाउँदै कम्पनीले ७७ मध्ये ७३ जिल्लामा सेवा प्रदान गर्दै आएको उनले बताए । 

वर्ल्डलिङ्कले यसअघि ब्रिटिश इन्टरनेसनल इन्भेस्टमेन्ट (बिआइआई) र डोल्मा इम्प्याक्ट फण्ड (डिआइएफआइआई)मार्फत विदेशी लगानी भित्र्याइसकेको छ । वर्ल्डलिङ्क ठूलो विदेशी लगानी भित्र्याउन नेपालको इन्टरनेट सेवा प्रदायकमध्येको पहिलो र एक मात्र कम्पनी रहेको छ ।  

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  २१:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update