काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै १७ लाखभन्दा बढी ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकनवानपुर बकैया गाउँपालिका घर भई काठमाडौं नागार्जुन नगरपालिका सितापाइला बस्ने ३९ वर्षीय सुवर्ण कुमार बल र सर्लाही ब्रम्हपुरी गाउँपालिका घर भई काठमाडौं टोखा नगरपालिका बस्ने २८ वर्षीया मनिषा कुमारी रहेका छन् ।
पक्राउ मध्ये सुवर्णले क्रोएसिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट १५ लाख रूपैयाँ र मनिषाले दुवई पठाइदिन्छु भन्दै एक जना पीडितबाट दुई लाख ४५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएका थिए । पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुवर्णलाई काठमाडौं बाफलबाट सोमबार र मनिषालाई काठमाडौं नयाँबसपार्कबाट मंगलबार पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।