काठमाडौं । ईशान इन्टर कलेज ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपको मुख्य प्रायोजकमा फ्रेमबक्स जोडिएको छ । ई-स्पोर्ट्स संघ नेपालले काठमाडौंमा पुसको २६ र २७ गते आयोजना गर्ने प्रतियोगिताको मुख्य प्रायोजकमा एनिमेसन र भिएफएक्स अध्ययन गराउने एकेडेमी फ्रेमबक्स जोडिएको हो ।
ईशानले विद्यालयस्तरको ई-स्पोर्ट्सको राष्ट्रिय प्रतियोगिताको रुपमा ईन्टर कलेज कार्यक्रमको आयोजना गर्दैछ । प्रतियोगितामा देशभरबाट कलेज/विद्यालयले टिम दर्ता गर्न सक्नेछन् । ईशानको वेव साईटमा गएर ईच्छुक विद्यालय/कलेजले टिम तथा खेलाडी दर्ता सक्नेछन् ।
पछिल्लो समय विश्व बजारमा माग भएको एनिमेसन र भिएफएक्सलाई नेपालमा अध्ययन गराउन सुरु गरेको फ्रेमबक्स ई-स्पोर्ट्स खेलको प्रबद्र्धनमा जोडिएको हो । ईशानका अध्यक्ष अन्जन धमला र फ्रेमबक्सका प्रतिनिधि अंशु किरण शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताको अवधि एक वर्षको रहने बताईएको छ ।
ईशान अध्यक्ष धमलाले फ्रेमबक्ससँगको सम्झौताले कलेजस्तरमा हुन लागेको प्रतियोगितालाई महत्वपुर्ण सहयोग पुर्याउने बताए । फ्रेमबक्सका प्रतिनिधि अंशु किरण शाहीले पछिल्लो समय विश्व बजारमा लोकप्रिय रहेको एनिमेसन र फिएफएक्सको कार्यक्रमलाई नेपाल विद्यार्थीसँग जोड्न पाउँदा खुसी लागेको बताए ।
काठमाडौंको बसुन्धारास्थित साउथ वेस्टन कलेजमा हुने प्रतियोगितामा पब्जी मोबाईल, एमएलबीबी, ई फुटबल र फ्रि फायर गरी चार विधा समावेश गरिएको छ । कुल पुरस्कार राशी ५ लाख रहने प्रतियोगितामा मंसिर ३० गतेसम्म कलेज/विद्यालयले टिम दर्ता गर्न सक्नेछन् ।