Aarthikaina
उसुका सिन्जालीलाई विश्व च्याम्पियनसिपको तयारीमा जुट्न सदस्य–सचिवको सुझाव

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य-सचिव टंकलाल घिसिङले तेश्रो थाउलो विश्व कपका कांस्य पदक विजेता उसुका विजय सिन्जालीलाई आगामी विश्व च्याम्पियनसिपको तयारीमा जुट्न सुझाएका छन् । सदस्य-सचिव घिसिङले बुधबार त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भएको भेटमा विजयलाई बधाइ दिदै विश्व च्याम्पियनसिपको तयारीमा जुट्न सुझाएका हुन् ।

सदस्य-सचिव घिसिङले भने, ‘विश्व च्याम्पियनसिपको तयारीमा ढुक्क भएर अगाडि बढ्नुस् । बाँकी कुराको केहि चिन्ता गर्नु पर्दैन । आवश्यक सहयोगका लागि परिषद् तयार छ ।’ घिसिङले विजयलाई एरिका गुरुङ र पलेशा गोबर्धन जस्तै परिषद्ले रणनीतिक खेलाडीको सूचीमा राख्ने बताउँदै थाउलो विश्व कपको पुरस्कारका लागि प्रकृया सुरु भइसकेको जानकारी गराए ।

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

विजयले जापानको योकोहामामा अक्टोबर २३ देखि २८ तारिखसम्म भएको प्रतियोगिताको चेन्सुमा कांस्य पदक जितेका थिए । थाउलो विश्व कपमा विजयले छनोट चरण पार गर्दै सहभागिता जनाएका हुन् । चीनमा गत अप्रिलमा भएको उसु आमन्त्रण अन्तर्राष्ट्रिय प्रतियोगितामा २७ प्रतिस्पर्धी मध्ये ५औं स्थानमा रहँदै विजय थाउलो विश्व कपका लागि छनोट भएको प्रशिक्षक निकेश श्रेष्ठले जनाएका छन् । सोही प्रतियोगिताको तुइलिन स्पर्धा भने विजयले कांस्य जितेका थिए ।

विजयले रियादमा भएको विश्व कम्ब्याटमा स्वर्ण, १२औं दक्षिण एसियाली खेलकुद (साग)मा रजत र १३औं सागमा स्वर्ण जितेका छन् । थाउलो विश्व कपमा नेपालबाट विजयसहित ५ खेलाडीले सहभागिता जनाएका थिए । निमा घर्ती मगर, राजीव तामाङ, दीपक हमाल र पासाङ शेर्पा पदकविहीन बने ।

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update