Aarthikaina
खुमा अर्याल फाउण्डेशनद्वारा तीन महिला क्रिकेटरलाई एक/एक लाख पुरस्कार

काठमाडौं । स्याङ्जाका तीन महिला क्रिकेटरलाई जनही एक/एक लाख रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको छ । १९ वर्षमुनिका उमेर समूहबाट नेपालको प्रतिनिधित्व गर्दै युएईमा सम्पन्न टि-२० महिला क्रिकेट प्रतियोगितामा सहभागी स्याङ्जाका तीन खेलाडीलाई बुधबार एक कार्यक्रमको आयोजना गरी पुरस्कार तथा सम्मान गरिएको हो ।

शिक्षा, स्वास्थ्य, रोजगार तथा खेलकुदका क्षेत्रमा सक्रिय रहेका खुमा अर्याल फाउण्डेशनले उनीहरूलाई नगदसहित दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरेको हो । कार्यक्रममा स्याङ्जाको पुतलीबजार नगरपालिका-१ का ज्योत्सिना मरासिनी, पुतलीबजार-१३ की सिमाना केसी, कुसुम गोदार र स्याङ्जा क्रिकेट सङ्घका अध्यक्ष दिवाकर थापालाई पुरस्कार तथा सम्मान गरिएको संस्थाका सचिव ध्रुव शर्माले जनाए । संस्थाले छैटौँ स्थापना दिवसको सन्दर्भ पारेर बुधबार सम्मान गरेको हो । 

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

युएईमा भएको यु-१९ टि-२० महिला विश्वकपको एसिया छनोटको उपाधि विजेता एवं सन् २०२५ मा मलेसियामा हुने विश्वकप खेलमा पुग्न सफल नेपाली टिममा स्याङ्जाका तीन जना महिला खेलाडी पर्न सफल भएका थिए । देशका लागि खेल्न पाउँदा आफूलाई गर्व लागेको र आगामी दिनमा खेल्नका लागि थप ऊर्जा मिलेको खेलाडी ज्योत्सिना मरासिनीले बताइन् । अबको समय मलेसियामा हुने एसिया कपको तयारीमा जुट्नुपर्ने उनले बताइन् ।

महिला खेलाडीलाई स्याङ्जाको पुतलीबजार नगरपालिकाले जनही ३३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार तथा सम्मानस्वरुप प्रदान गर्ने निर्णय गरेको नगर प्रमुख तुलसीराम रेग्मीले बताए । नगर कार्यपालिकाले तीन जनालाई एकलाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेकाले आगामी नगर सभाबाट खेलाडीलाई प्रदान गरिने उनले बताए । 

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले जनही १५ हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताए । गाउँपालिकाले बिहीबार एक कार्यक्रमको आयोजना गरी पुरस्कार एवं प्रदान गर्ने तयारी गरेको उनले बताए । यसअघि स्याङ्जा जिल्ला खेलकुद विकास समितिले खेलाडीलाई सम्मान गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update