Aarthikaina
कर प्रशासन र नीति सहज भयो भने लगानीमैत्री वातावरण बन्छ: चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले कर प्रशासन र कर नीति सहज र सरल भयो भने लगानीमैत्री वातावरण बन्ने बताएका छन् । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा आन्तरिक राजश्व विभाग, निजी क्षेत्रका प्रतिनिधिलगायत सरोकारवाला निकायलाई बोलाएर चेम्बरले कर प्रणालीमा देखिएका चुनौती र सम्बोधन गर्नुपर्ने विषयबारे गरेको बृहत अन्तरक्रिया कार्यक्रममा अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् ।

चेम्बरले सोमबार राजश्व नीति र कर प्रणालीबारे बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा चेम्बर अध्यक्ष अग्रवालले नेपालको कर प्रणालीलाई लगानीसँग जोड्नुपर्ने बताए । उनले भने, ‘कर प्रशासन र कर नीति सहज र सरल भयो भने लगानीमैत्री वातावरण बन्छ, लगानी वृद्धि भएर निजी क्षेत्रले नाफा कमाए मात्रै कर वृद्धि गर्न सकिन्छ ।’ मुलुकमा पुँजी निर्माण भएर रोजगारी सिर्जना, उत्पादन वृद्धि हुने गरी सरल र सहज नीति बनाउनुपर्नेमा उनले जोड दिए । उनले भने, ‘कृषकलाई खेती उब्जनीमा जसरी मल बिउको आवश्यकता पर्दछ, त्यसैगरी निजी क्षेत्रलाई सरल र स्थिर नीति चाहिन्छ ।’

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

अर्थतन्त्रमा झण्डै ८१ प्रतिशत हिस्सा ओगट्ने निजी क्षेत्रलाई सहजीकरण र स्थिर नीतिगत व्यवस्था गरे दिगो अर्थतन्त्रको विकास र राजश्व संकलनको लक्ष्य पूरा गर्न समस्या नहुने अध्यक्ष अग्रवालको भनाई छ । उनले भन्सारमा कारोबार मूल्यलाई मान्यता दिएर सन्दर्भ मूल्यलाई खारेज गर्नुपर्नेमा जोड दिए । नक्कली भ्याट बिलमा संलग्नलाई कारवाही गर्नुपर्ने तर छानविनका नाममा असल व्यापारीलाई दु:ख दिन नमिल्ने भन्दै उनले २०५८ सालमा आएको आयकर ऐनलाई संशोधन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा आन्तरिक राजश्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले कर प्रणालीलाई लगानीसंग जोड्न सरकारले पनि काम गरिरहेको बताए । मुलुकमा लगानीको वातावरण छैन भन्ने भाष्यलाई चिर्नुपर्ने महानिर्देशक आचार्यको भनाई छ । उनले भने, ‘लक्ष्य अनुसारको उपलब्धी हासिल गर्न नसकिए पनि अर्थतन्त्र अहिले ठिक ठाउँमा रहेको छ । राजश्व प्रणाली र सरकारको खर्च प्रणालीमा सुधार हुँदै आएको छ ।’ सरकार र निजी क्षेत्रको सहकार्यमार्फत आर्थिक उपलव्धी हासिल गर्नुपर्नेमा महानिर्देशक आचार्यले जोड दिए । नक्कली भ्याट बील बिजकको समस्या समाधान गर्ने गरी प्रयास भईरहेको उनको भनाई थियो ।

सो कार्यक्रममा सहभागीहरुले वर्तमान कर प्रणालीबाट साना व्यापारीहरु सबैभन्दा बढी मर्कामा परेको गुनासो गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update