Aarthikaina
गुल्सन कुमार झाको अलराउन्डर प्रदर्शनमा क्यानडामा नेपालको पहिलो जित

काठमाडौं । गुल्सनकुमार झाको अलराउन्डर प्रदर्शनसँगै क्यानडामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमा जित हासिल गरेको छ । जारी त्रिकोणात्मक टि –२० आई सिरिजमा नेपालले ओमानलाई हराउँदै आफ्नो हारको यात्रा रोकेको हो ।

लगातार ११ खेलमा जित निकाल्न नसकेको नेपालले १२औं खेलमा आएर हारको शृङ्खलामा पूर्णविराम लगाएको छ । नेपालले सोमवार विहान सकिएको खेलमा ओमानमाथि ३७ रनको जित हात पारेको हो । नेपालले जितका लागि दिएको १ सय ७७ रनको चुनौतीपुर्ण लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा १ सय ३९ रन बनाउँदै अल आउट भएको थियो ।

ओमानका लागि सोयब खानले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४५ रन तथा रफिउल्लाहले १२ बलमा १ चौका र ४ छक्कासहित ३३ रन जोडेका थिए । प्रतिक अथाभालेले १४ बलमा १५ रन, खालिद कैलले ११ रन जोडेका थिए ।

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

नेपालका लागि करन केसीले सर्वाधिक ३ विकेट, कुशल भुर्तेल र गुलशन झाले समान २/२ विकेट तथा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र रिजन ढकालले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि क्यानडाको किंग सिटी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रनको योगफल तयार गरेको थियो ।

नेपालका लागि गुलशन झाले १७ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक नटआउट ४० रन बनाएका थिए । छैटौं विकेटका लागि गुलशन र कुशल भुर्तेलले ६१ रनको साझेदारी गरेका थिए । कुशलले १७ बलमा १ चौका र १ छक्का सहित २० रन बनाएका थिए ।

कुशल मल्लले २६ बलमा २ चौका र २ छक्कासहित ३० रन बनाएका थिए । ओपनरद्वय अनिल शाह र आसिफ शेखले समान २७ रन बनाएका थिए । दीपेन्द्रसिंह ऐरीले ५ बलमा १ चौका र २ छक्कासहित नट आउट १८ रन बनाएका थिए ।

ओमानका लागि कप्तान अकिब इल्यासले सर्वाधिक ३ विकेट, जिशान मक्सुद र फैयज बटले समान १/१ विकेट लिएका थिए । सिरिजको पहिलो खेलमा शनिवार नेपाल घरेलु टोलीसँग १४ रनले पराजित भएको थियो । अब नेपालले तेस्रो खेल मंगलवार क्यानडासँग खेल्दा चौथो खेलमा बुधवार ओमानको सामना गर्नेछ ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update