Aarthikaina
कमल थापालाई दोहोरो स्वर्ण

काठमाडौं । कमल थापाले बीवाइडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगितामा आइतबार दोहोरो स्वर्ण जितेका छन् । कमलले ५५ वर्षमाथि र ६५ वर्षमाथि पुरुष सिंगल्समा स्वर्ण जितेका हुन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ५५ वर्षमाथि फाइनलमा कमलले मनोजविक्रम शाहलाई ६–४ र ७–५ को सोझो सेटमा पराजित गरे । अर्को स्पर्धाको फाइनलमा कमलले ध्रुव गुरुङलाई सीधा सेटमा ६–३ र ६–० ले हराए ।

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

आइतबारै विभिन्न ५ स्पर्धाका डबल्स र १ स्पर्धाको फाइनल पनि भए। पुरुष डबल्समा प्रणव मानन्धर र राजवीर प्रधानको जोडी पहिलो भए । उक्त जोडीले फाइनलमा प्रणव खनाल र सक्षमविक्रम शाहको जोडीलाई सीधा सेटमा ६–४ र ६–१ ले पाखा लगाए । ३५ वर्षमाथि पुरुष डबल्समा जितेन्द्र परियार र इलम दीक्षितको जोडीले सन्तोष खत्री र सुवास बस्न्यातको जोडीलाई ६–४, ४–६ र १०–७ ले पन्छाए । ४५ वर्षमाथि पुरुष डबल्समा डेगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले रोहित सुनुवार र हिमाल शाहको जोडीमाथि ६–३ र ७–५ को जित दर्ता गरे । 

५५ वर्षमाथि पुरुष डबल्समा पनि चन्द्र शाहीले स्वर्ण जिते। उनले उत्तम शेर्पासंग मिलेर मनोज राणा र डेगेन्द्र श्रेष्ठको जोडीलाई ६–२ र ६–४ ले फाइनलमा पाखा लगाए। ६५ वर्षमाथि पुरुष डबल्समा मनोज राणा र ध्रुव गुरुङको जोडी च्याम्पियन बने । उक्त जोडीले फाइनलमा विदुर विष्ट र भिक्टर राणाको जोडीको चुनौती ४–६, ६–२ र १३–११ पन्छाए ।

पुरुष सिंगल्समा प्रदीप खड्का र प्रणव मानन्धर फाइनलमा पुगे । प्रदीपले प्रणव खनाललाई ६–१ र ६–३ तथा प्रणवले निसान श्रेष्ठलाई ६–२, ५–७ र ६–३ को सेटमा पराजित गरे । ४५ वर्षमाथि पुरुष सिंगल्स फाइनलमा कमलबहादुर भण्डारीले रोहित सुनुवारलाई ६–३ र ६–३ ले पन्छ्याउदै स्वर्ण हात पारे ।

महिला सिंगल्समा अभिलाषा विष्ट र सुनिरा थापा उपाधिका लागि भिड्ने भएका छन् । सेमिफाइनलमा अभिलाषाले स्वस्तिका विष्टलाई ६–२ र ६–४ तथा सुनिराले आइशा डोल्कर गुरुङलाई ६–० र ६–१ को सोझो सेटमा हराए । ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियारले भीष्मजंग गुरुङलाई ६–१ र ६–२ तथा सन्तोष खत्रीले सिमान्त गुरुङलाई ६–२ र ६–३ को सोझो सेटमा पराजित गरे । प्रतियोगिता सोमबार समपन्न हुनेछ ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  ०२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update