Aarthikaina
फोक्सोलाई कसरी स्वस्थ राख्ने ?

हामीले हरेक वर्षझैँ यसवर्ष पनि २५ सेप्टेम्बरलाई विश्व फोक्सो दिवसका रुपमा मनाउँदै आएका छौँ । यो वर्ष ‘सबैलाई स्वच्छ हावा र स्वस्थ फोक्सो’ भन्ने नारासहित नेपालसहित विश्वभर उक्त दिवस मनाउन लागिएको छ । यस लेखमा फोक्सोले कसरी काम गर्छ र फोक्सोलाई कसरी स्वस्थ राख्ने तरिकाहरुको बारेमा संक्षिप्तमा जानकारी गराउने प्रयास गरेको छु । 

सास फेर्ने प्रक्रिया :

सास फेर्दा हामी नाक वा मुखबाट हावा लिन्छौं । यो हावा नासिकामार्ग वा मुखबाट स्वासका नलीहरु हुँदै फोक्सोमा पुग्छ । फोक्सोका सानो एयरस्याकहरू, जसलाई एल्वियोली भनिन्छ, यहाँ अक्सिजन र कार्बनडाइअक्साइडको आदान प्रदान हुन्छ । रगतले एल्वियोलीबाट अक्सिजन ग्रहण गर्दछ र कार्बनडाइअक्साइडलाई वायुमार्गबाट नाक वा मुखबाट निस्किन्छ ।

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

फोक्सो आफैंले सास तान्न सक्दैन । सास फेर्ने प्रक्रियामा प्रमुख भूमिका खेल्ने मांसपेशीहरूमा डायफ्रामर छातीका मांसपेशी (इन्टरकोस्टलमांसपेशीहरू) पर्छन् । डायफ्राम छातीको तल्लो भागमा एक गुम्बज आकारको मांसपेशी हो । यसले फोक्सोलाई फुल्न र खुम्चन मद्दत गर्दछ । इन्टरकोस्टल मांसपेशीहरू करंगका हड्डीको बीचमा अवस्थित हुन्छन । यी मांसपेशीहरूले छातीको क्रेजलाई फुल्न र खुम्चन मद्दत गर्दछ । यिनै मांसपेसीहरुको मद्दतले हामी स्वास फेर्छौ । 

फोक्सोको महत्वपूर्ण कार्यहरु :

अक्सिजन आपूर्ति कार्बनडाइअक्साइड हटाउन : फोक्सोले शरीरमा अक्सिजन ल्याउन महत्वपूर्ण भूमिका खेल्छ । सास फेर्दा वातावरणबाट अक्सिजन लिन्छ र शरीरमा उत्पन्न भएको कार्बनडाइअक्साइडलाई फोक्सो बाहिर फ्याँक्छ, जसले शरीरलाई स्वस्थ राख्छ र रक्त सञ्चारको शुद्धिकरण गर्छ । 

रोग प्रतिरोधात्मक क्षमता : फोक्सोमा साना रौ जस्ता सिलिया हुन्छन्, जसले धूलो, किटाणु र अन्य हानिकारक कणलाई बाहिर निकाल्न मद्दत गर्छ, जसले शरीरलाई रोगबाट जोगाउँछ ।

ध्वनि उत्पादन : फोक्सोले नाक र मुखमार्फत सासको प्रवाहलाई व्यवस्थित गरेर स्वरयन्त्र (बिचथलह)मा ध्वनि उत्पादनमा सहयोग पुर्याउँछ ।

अम्ल-क्षारको सन्तुलन राक्दछ : हामीले प्रत्येक पटक श्वास लिँदा आधा लिटरजति हावा फोक्सोभित्र तानिरहेका हुन्छौँ । एक मिनेटमा ७ देखि ८ लिटर र २४ घण्टामा ११ सय लिटर जति हावा लिन्छौँ । प्रदूषित हावामा धुलोको कणहरु तथा हानिकारक ग्याँसहरू मिसिएको हुन्छ । हामीले श्वास लिँदाखेरि हावासँगै त्यसमा मिसिएका कणहरू तथा हानिकारक ग्याँसहरु पनि फोक्सोभित्र प्रवेश गर्दछ जसले विभिन्न स्वास्थ्य समस्याहरु निम्त्याउन सक्छ । धुलोका अत्यन्त साना कणहरू तथा हानिकारक ग्याँसहरू फोक्सोमा मात्र नभई फोक्सोको माध्यमबाट रक्त सञ्चार प्रणालीमा प्रवेश गरी शरीरका अन्य भागहरुमा समेत क्षति पुर्याउन सक्दछ । वायु प्रदुषण, जलवायु परिवर्तन र जीवनशैलीमा आएको परिवर्तनका कारण फोक्सोका बिरामी दिनप्रतिदिन बढ्दै गएका छन् । जसका कारण विशेष गरि दमको समस्या, फोक्सोको क्यान्सरको समस्या बढ्दो क्रममा रहेको छ ।

फोक्सोको महत्वपूर्ण रोगहरू :

दम (सीओपीडी/आस्थ्मा) : यो एक दीर्घकालीन समस्या हो । यस कालक्षणहरूमा खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, सीटी बज्ने र छातीको दुखाइ आदि पर्दछन । 

फोक्सोको क्यान्सर : फोक्सोको क्यान्सर एक गम्भीर रोग हो जसमा फोक्सोमा असामान्य कोशिकाहरू अनियन्त्रित रूपमा बढ्छन् । धुम्रपान फोक्सोको क्यान्सरको प्रमुख कारण हो ।

निमोनिया : निमोनिया फोक्सोको संक्रमण हो । यो विभिन्न कारणले हुनसक्छ, जस्तै ब्याक्टेरिया, भाइरस वा फङ्गस । निमोनियाका लक्षणहरूमा खोकी, ज्वरो, छाती दुखाइ र सास फेर्न गाह्रो हुने समावेश छ ।

क्षयरोग(टीबी) : यो एक संक्रामक रोग हो, यो माइको ब्याक्टेरियम ट्युबरक्लोसिस नामक ब्याक्टेरियाबाट हुन्छ । यसले मुख्यतया फोक्सो र शरीरका अन्य अंगहरुमा संक्रमण गर्दछ ।

फोक्सोलाई स्वस्थ राख्ने र रोग लाग्नबाट बचाउने केहि सरल उपायहरु :

  • धुलो, धुवाँ ढुसी आदि हटाउन घरमा नियमित रूपमा सफा गर्ने ।
  • घरमा पर्याप्त हावा प्रवाह सुनिश्चित गर्न नियमित रूपमा झ्याल र ढोका खोल्ने बानि गर्ने ।
  • अरुले गरेको धुम्रपानबाट बच्ने र अरुलाई पनि धुम्रपान नगर्नको लागि परामर्श दिने ।
  • खाना पाकाउन, कोठाहरु तताउन कम प्रदुषण गर्ने इन्धन प्रयोग गर्ने
  • वायु प्रदूषणको स्तर उच्च हुँदा बाहिर ननिस्कने प्रयास गर्नुहोस् ।
  • प्रदुषित क्षेत्रमा जानु पर्दा एन-९५ मास्क लगाउनु होस् ।
  • प्रदूषणयुक्त क्षेत्रहरूबाट टाढा रहने प्रयास गर्नुहोस् ।

फोक्सोको स्वास्थ्यलाई कायम राख्न आहार र व्यायामले महत्वपूर्ण भूमिका खेल्छन् । स्वस्थ आहारमा हरियो सागपात, फलफूल समावेश गर्नुपर्छ । साथै, नियमित व्यायामले फोक्सोको कार्यक्षमता सुधार गर्छ । विशेषगरी, गहिरो सास फेर्ने अभ्यास, दौडने, पौडी खेल्ने र योगजस्ता शारीरिक क्रियाकलापले फोक्सोको कार्यक्षमता बढाउँछ । फोक्सोको संक्रमणबाट जोगाउन संक्रमित व्यक्तिको वरपर नजाने, सामाजिक दूरी कायम राख्ने, हात धुने, माक्सको प्रयोग गर्ने, आफूलाई संक्रमण भए सावधानी अपनाउने आदी गर्नु पर्दछ ।

प्रशस्त झोल कुरा पिउनु पनि स्वास्थ्यका लागि महत्वपूर्ण छ । पानीले फोक्सोको कार्यलाई सुधार गर्न मद्दत गर्दछ, पर्याप्त पानीले फोक्सोको कफलाई पातलो बनाउँछ, जसले श्वासप्रश्वासलाई सहज बनाउँछ । फोक्सोको स्वास्थ्यलाई जोगाउन खोप पनि महत्त्वपूर्ण हुन्छ । फ्लू र निमोनियाबाट बच्नका लागि खोपले केहि हदसम्म फोक्सोलाई संक्रमणबाट जोगाउँछ ।

– डा.रबि महत(श्वासप्रश्वास रोग विशेषज्ञ), ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update