Aarthikaina
पर्यटन बोर्डद्वारा भविष्यका पर्यटन जनशक्तिलाई सशक्त बनाउने कार्यक्रमको शुभारम्भ 

काठमाडौं । नेपाल पर्यटन  व्यवसायीहरूको आगामी पुस्तालाई वर्तमानसँग अभ्यस्त गराउने उद्देश्यले नेपाल पर्यटन बोर्डले एउटा पहलको शुभारम्भ गरेको छ । नेपाल पर्यटन बोर्डको सभाकक्षमा आयोजना गरिएको 'Empowering Future Tourism LeadersM Sharing Knowledge & Growth' शीर्षकको मासिक शृङ्खलाको उट्घाटन सत्रमा शुभश्री कलेज अफ म्यानेजमेन्टको ब्याचलर अफ होटल म्यानेजमेन्ट कार्यक्रमका ६५ विद्यार्थीहरू सहभागी थिए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत(सिईओ) दीपकराज जोशीले कार्यक्रमको महत्वलाई जोड दिँदै भने, ‘यो हाम्रो पर्यटनको भविष्य प्रवर्द्धन गर्ने पहल हो । हामी यस क्रममा भाइबहिनी र उद्योगीहरूको साथको अपेक्षा गर्दछौं ।’ उनले अहिलेको पर्यटनको प्रवृति ‘यात्राको अनुभव’समेत रहेको बताए । 

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

कार्यक्रममा बोल्दै बोर्डका वरिष्ठ निर्देशक हिकमत सिंह ऐरले यो कार्यक्रमले विद्यार्थी भाइबहिनीहरूलाई जागिरउन्मुख हुने भन्दा पनि उद्यमी बन्न जोड लगाउनु पर्ने बताए । बोर्डका वरिष्ठ प्रवन्धक विमल कँडेलले नेपालका अनुपम पर्यटकीय सम्पदाहरुको बारेमा प्रस्तुतिकरण गरेका थिए भने कार्यक्रममा सुभश्री कलेजका प्राचार्य मनिता ओलीले युवा जनशक्तिले हरेक समय केही न केही सिकिरहनु पर्ने र यस कार्यक्रमले पनि सबैलाई सिक्ने मौका दिएको बताइन् । 

यस पहलले उद्योग विशेषज्ञता र उदीयमान प्रतिभाहरूबीचको खाडललाई कम गर्दै आवश्यक वातावरण सिर्जना गर्ने छ भन्ने आशा बोर्डको रहेको छ । साथै, यसले सिकाइ, सहकार्य र नवप्रवर्तनलाई बढावा दिनेछ । यस सत्रले अनुभवी पेशा व्यवसायीहरु, शिक्षकहरू र विद्यार्थीहरूलाई पर्यटनमा नवीनतम प्रवृत्तिहरू छलफल गर्न र भविष्यका अवसरहरू अन्वेषण गर्न अभिप्रेरित गर्नेछ । सहभागीहरूले अनुभव साटासाट र एकअर्कालाई प्रेरणा दिने मौका पाउने छन् । सहभागी हुन चाहने अन्य कलेज, शैक्षिक संस्थाहरूले यस कार्यक्रममा संलग्न हुनको लागि पर्यटन सम्पदा तथा संसाधन विकास महाशाखाको पर्यटन क्षमता बिकास एकाइमा सम्पर्क गर्नुपर्ने बोर्डले जनाएको छ । साथै, जोशीले भने, ‘यो पहल ज्ञान हस्तान्तरणको लागि मात्र होइन, यो हाम्रो पर्यटन उद्योगको भविष्यलाई आकार दिने युवा नेताहरू बनाउने अभियान हो ।’ 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update