Aarthikaina
‘हिमालयन इन्टरनेशनल एक्स्पो’ आयोजना हुँदै

काठमाडौं । हस्तकला व्यवसायीको सम्मान र व्यवसाय विश्वव्यापीकरणमा सहयोग गर्ने उद्देश्यले ‘हिमालयन इन्टरनेशनल एक्स्पो’ आयोजना हुने भएको छ । राजधानी काठमाडौंको भृकुटीमण्डपमा यहि असोज १७ देखि १९ गतेसम्म एक्स्पो आयोजना हुने भएको हो । 

अध्यक्ष कपिल अधिकारीका अनुसार एक्स्पोमा हस्तकलाजन्य सामग्री, अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भूँइकटहरलगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन लगायतका स्टलहरु हुने छन् । यस्तै, भक्तपुरको प्याला, राउटे तथा चेपाङ समुदायले बनाएका काठका सामग्री, जैविक स्रोतबाट बनेका श्रंगारको सामग्री तथा महबाट बनेका सौन्दर्य प्रशोधनका सामग्री पनि रहने उनले बताए ।

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

अधिकारीका अनुसार पश्मिना, स्टोन, माला, क्यूरियाको सामान, गलैंचा, गार्मेन्टका सामान, सिसा पाइपहरु, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहनाहरू, हेण्ड मेड पेपरहरू, पेपर प्याकेजहरु, नेपाली ढाकाहरू, कार्पेट, घरेलु साना तथा ठूला उद्योगहरुबाट उत्पादित वस्तु, जडिबुटी, सजावटका सामान, पर्यटन उद्योगसँग सम्बन्धित सेवाहरु एक्सपोमा उपलब्ध हुने छन् ।

नेपाली उत्पादनको निर्यातलाई बढाएर देशलाई आर्थिक सम्वृद्धिको दिशातर्फ अगाडि लैजान यो प्रदर्शनीले सहयोग पुर्याउने उद्देश्य रहेको कम्पनीले जनाएको छ । प्रदर्शनीमा सयौँ विदेशी व्यापारी तथा खरिदकर्ताहरु खासगरी अमेरीका, क्यानडा, यूरोप, चीन, भारतलगायत अन्य देशहरुबाट आउने पनि आयोजकले जनाएको छ । 

नेपाल हस्तकलाको प्रवर्द्धनमा लामो समयदेखि लागिरहेको हिमालयन एक्सपोले देशबाहिर पनि विभिन्न मुलुकमा मेला आयोजना गर्दै आएको छ । नेपाली उत्पादनलाई विश्वबजारमा सुलभ तरिकाले पुर्याउने उद्देश्यले अमेरिका, क्यानडा, बेलायत लगायतका देशमा पनि हरेक वर्ष एक्स्पो हुने गरेको छ । केही महिनाअघि मात्रै संयुक्त राज्य अमेरिकामा एक्सपो सम्पन्न भइसकेको छ । असोजमा नेपालमा एक्सपो आयोजना गर्ने र त्यसपछि अन्य मुलुकहरुमा पनि हस्तकला एक्सपो आयोजना हुने आयोजकले जनाएको छ । 

हिमालयन एक्सपोको उद्देश्य भनेको हस्तकला उद्योगको प्रदर्शन र प्रवर्द्धन गरी विश्वबजारमा चिनाउनु हो भने हस्तकलासँग सरोकार राख्नेहरुका लागि लगानी र व्यापारको अवसर सिर्जना गर्नु जनाइएको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update