Aarthikaina
सेवा निवृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीको बिदाइ

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवा निवृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीलाई मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गरेका छन् । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले संगठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, संगठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारीताका साथ सम्पन्न गरेको उल्लेख गरे । 

अपराध न्यूनीकरण तथा अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन, नीति निर्माण, सांगठनिक सुदृढीकरणका साथै संगठनको रणनीतिक कार्ययोजना कार्यान्वयनमा गरेको अतुलनीय योगदानको उनले चर्चा गरे । प्रहरी महानिरीक्षक कुँवरले सेवा निवृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षकबाट सेवा निवृत्त जीवनपश्चात पनि संगठनको हितको लागि सदैव रचनात्मक सल्लाह, सुझाव एवम् सहकार्य निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरे । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीलाई मायाको चिनो प्रदान गरे ।

Manakamana Cable Car

कार्यक्रममा ज्ञवालीले आफ्नो सेवा अवधिमा गरेका अनुभवसहितको मन्तव्य व्यक्त गरे । ज्ञवाली २०५१ साल चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवाली भदौ २६ गतेबाट सेवानिवृत्त हुन लागेका हुन् । 

सो कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  २१:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update