Aarthikaina
ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशाको भव्य स्वागत

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पेरिस पारालिम्पिक-२०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई बुधबार भव्य स्वागत गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान करिब ८ बजे अवतरण गरेको पलेशासहितको पारा तेक्वान्दो टोलीलाई राखेपका अध्यक्ष, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राखेपका सदस्य-सचिव टंकलाल घिसिङ, राखेपका बोर्ड सदस्य, नेपाल तेक्वान्दो संघका पदाधिकारी, विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, कर्मचारी, आफन्त, एपीएफको ब्यान्ड टोली, पञ्चे बाजा, शुभचिन्तकलगायतले भब्य स्वागत गरेका थिए ।

विमानस्थलमा टोलीलाई स्वागत गर्दा तेक्वान्दो खेलाडीको बाक्लो उपस्थिति रहेको थियो । स्वागतपछि पलेशासहित अर्का तेक्वान्दो खेलाडी भरतसिंह महता, प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठको टोलीलाई नगरपरिक्रमा गराइएको थियो । विमानस्थलबाट सुरु भएको नगर परिक्रमा गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, पुतलीसडक, पलेशाको गृह क्षेत्र बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै त्रिपुरेश्वरस्थित राखेपको प्राङ्गण आएर कार्यक्रममा परिणत भएको थियो । नगर परिक्रमाको अग्र भागमा प्रहरीको स्कटिङ टोली, एपीएफको ब्यान्ड टोली, फोटो पत्रकार र क्यामराम्यानका लागि छुट्टाइएको सवारी साधन र त्यसपछि पारा तेक्वान्दो टोलीका लागि व्यवस्था गरिएको सवारी साधन थियो । ट्राफिक व्यवस्थापन चुस्त थियो ।

पारा तेक्वान्दो टोली सवार सवारी साधनमा खेलकुद मन्त्री चौधरी, सदस्य-सचिव घिसिङ, राखेप कार्यकारी समितिकी सदस्य नन्दा बस्याल, राखेपकी सदस्य अञ्जना श्रेष्ठ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ थिए । खेलकुदमन्त्री चौधरीले पदक जितेर पलेशाले विश्वमाझ नै देशको शीर उच्च पारेकोमा धन्यवाद व्यक्त गर्दै राष्ट्रको गौरव निर्माण गर्न सबैभन्दा पहिला खेलाडी र प्रशिक्षकलाई प्राथमिकतामा राख्नु पर्ने बताए । उनले खेल संघलाई खेल विकासमा ध्यान दिन आग्रह गर्दै एकतवाद्ध भएर काम गर्न सके खेलकुदले देशलाई धेरै दिन सक्ने विश्वास व्यक्त गरे ।

Manakamana Cable Car

सदस्य-सचिव घिसिङले नेपाली खेलकुदको एउटा सपनालाई विपनामा परिवर्तन भएको र यो सफलता प्राप्त गर्न पलेशा, प्रशिक्षक कविराज नेगी लामा, नेपाल तेक्वान्दो संघ, पलेशाका परिवारलगायतको धेरै संघर्ष रहेको धारणा व्यक्त गरे । ओलम्पिकमा पाइला चालेको दशकपछि पलेशाले नयाँ इतिहास रचेको बताउँदै पदक जितेपछि खेलाडीले पुरस्कार पाउने गरी कानुन नै निर्माण गरेको र सो अनुरूपमा पुरस्कारका लागि राखेपको कार्यकारी समितिले निर्णय गरी सिफारिस गरिसकेको जानकारी गराए ।

उनले अहिले पलेशा र एरिका गुरुङ (एसियाली खेलकुदकी रजत पदक विजेता)लाई युवाहरूका हिरोको रूपमा चर्चा गरे । उनीहरूजस्ता हिरोहरू जन्माउने खेल र प्रशिक्षकप्रति उनले आभार व्यक्त गरे । सदस्य-सचिव घिसिङले अब मिसन २०२६ मा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित अहिले नै आगामी एसियाली खेलकुदका लागि तयारी सुरु भैसकेको बताए । उनले पलेशाले ओलम्पिकमा पदकको खाता खोलेको बताउदै यो खातामा पदक थप्न कैयन् खेलाडी लागि पर्ने विश्वास व्यक्त गरे ।

प्रशिक्षक लामाले अब नेपालले पनि ओलम्पिकमा पदक जित्न सक्छ भन्ने प्रमाणित भएको बताए । प्रशिक्षक लामाले स्वर्ण जित्ने लक्ष्यसहित गए पनि सुरुमा समालिन नसक्दा पूरा नभएको उल्लेख गरेका छन् । यद्यपि, यसपल्ट रिपाचेजमा कांस्य पदक जित्ने अवसर नगुमाउने रणनीतिसहित खेल्दा सफल भएको उनको भनाइ छ । प्रशिक्षक लामाले पलेशाको अथक मिहिनत र परिवारको साथबाट पनि यो पदक सम्भव भएको बताए । उनले मिहिनत गर्यो भने ओलम्पिकमा पदक ल्याउन सक्छौं भन्ने पलेशाले प्रमाणित गरेको बताए ।

पलेशाले न्यानो स्वागतका लागि धन्यवाद दिदैँ आफूले पदक जित्छ भन्ने सबैको भरोसालाई कायम राख्दै सफल भएकोमा खुशी व्यक्त गरिन् । पलेशाले आफूले जितेको पदक आफ्नो मात्र नभइ सिंगो राष्ट्र र सम्पूर्ण नेपालीको भएको बताइन् । पलेशाले आफैलाई विश्वास गर्नु नै जितको सबैभन्दा ठूलो हतियार भएको बताउँदै आफूले आफैलाई विश्वास नगर्ने हो भने कहिले पनि सफलता हात पार्न नसकिने धारणा व्यक्त गरिन् ।

नेपाल पारालिम्पिक कमिटिका कार्यवाहक अध्यक्ष केदारबाबु सिवाकोटी र नेपाल तेक्वान्दो संघका प्रवक्ता सामराज्यविक्रम पाण्डेले नेपाललाई अमूल्य पदक दिलाएकोमा पलेशासहित सम्पूर्ण टिमलाई बधाइ दिए ।

पेरिसस्थित ग्रान्ड प्यालेसमा अगष्ट ३० तारिखमा भएको के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि कांस्य पदक भिडन्तमा पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५-८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक पदक दिलाएकी थिइन् । पलेशाले पाएको उपलब्धी नेपाली खेलकुदकै अहिलेसम्मको ठूलो हो । कुनैपनि ओलम्पिकमा नेपाली खेलाडीले हालसम्म पदक जित्न सकेका छैनन् ।

नेपालले पारालिम्पिकमा सन् २००४ को एथेन्स तथा गृष्मकालीन ओलम्पिकमा सन् १९६४ को टोकियो ओलम्पिकदेखि भाग लिन थालेको थियो । पेरिस पारालिम्पिकमा पलेशा, भरतसहित पौडीका भीमबहादुर कुमालले प्रतिस्पर्धा गरेका थिए । के-४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि प्रतिस्पर्धा गरेका भरत पहिलो चरणमै जापानका खेलाडीसंग पराजित भए । भीम एस-९ क्याटगोरीअन्तर्गत पुरुष ५० मिटर फ्रिस्टायलमा हित चरणबाटै बाहिरिए ।

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update