Aarthikaina
राष्ट्रिय दीगो पर्यटन क्लबका विद्यार्थीलाई पर्यटन फोटोग्राफि तालिम

काठमडौं । राष्ट्रिय दीगो पर्यटन क्लबका विद्यार्थीका लागि एक दिने पर्यटन फोटोग्राफी अभिमुखिकरण तालिम दिइएको छ ।पर्यटन तथा पर्यटन फोटोग्राफीका बारेका जनचेतना अभिवृद्धि गर्दै सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिने उद्देश्यले गरिएको उक्त एकदिने अभिमुखिकरण कार्यक्रम नेपाल पर्यटन बोर्डमा आयोजना गरिएको थियो । 

कार्यक्रममा काठमाडौं उपत्यकाका विभिन्न १० वटा विद्यालयका ७० जना विद्यार्थीको सहभागिता रहेको थियो । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीद्वारा संयुक्त रुपमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी)को आयोजना तथा द ग्लोवल ट्राभल एण्ड टुरिजम पार्टनरसीप (जीटीटीपी)मा आवद्ध टुरिजम रिसर्च एण्ड ट्रेनिङ इन्टिच्युट  (टीआरटीआई)को सहकार्यमा उक्त कार्यक्रम गरिएको थियो । 

Manakamana Cable Car

कार्यक्रममा नेशनल स्कुल अफ फोटोग्राफीका सञ्चालक तथा वरिष्ठ फोटो पत्रकार मधुसुदन थापाले फोटोग्राफीका सैद्धान्तिक तथा व्यावहारिक विषयवस्तुका बारेमा जानकारी गराएका थिए । त्यस्तै, कार्यक्रममा उपप्राध्यापक तथा नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट टी.पी. भुसालले नेपालको पर्यटन, यसको महत्व, पर्यटन प्रर्वद्धनमा विद्यार्थीको भूमिका तथा फाटोग्राफीको आचार संहिताबारे प्रष्ट्याएका थिए । राष्ट्रिय फोटो पत्रकार समूहका सदस्य तथा फोटो पत्रकार प्रदीप श्रेष्ठले फोटोग्राफीमा क्यामेरा तथा मोवाईल फोटोग्राफीका बारेमा जानकारी गराएका थिए । 

कार्यक्रममा जीटीटीपीका कन्ट्री म्यानेजर तथा टीआरटीआईका प्रेसिडेन्ट मदन कुमार बरालले टीआरटीआईले देशका विभिन्न जिल्लाका ७० वटा विद्यालयहरुमा राष्ट्रिय दीगो पर्यटन क्लब स्थापना गरि विद्यायलस्तरदेखि नै बालबालिकामा पर्यटनसंग सम्बन्धित विषयमा जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराए । 

टीआरटीआईका कार्यक्रम निर्देशक सरोज प्रसाद पोखरेल र कार्यक्रम संयोजक लक्ष्मी प्रसाद बुढाथोकीले पर्यटनका लागि फोटो महत्वपूर्ण विषय भएको उल्लेख गर्दै विद्यार्थीलाई यसको सैद्धान्तिक तथा व्यावहारिक ज्ञान दिनसके विद्यार्थीमा पर्यटनप्रतिको अभिरुची बढने र पर्यटकीय पूर्वाधारको संरक्षण तथा प्रर्वद्धनमा सहयोग पुग्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

साथै, कार्यक्रममा एसटीएलआरपीले टीआरटीआईसंगको सहकार्यमा देशभर राष्ट्रिय दीगो पर्यटन क्लब खोल्न सहयोग गर्दै आइरहेको परियोजनाले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update