Aarthikaina
बंगलादेशको जनविद्रोह र त्यसले सिकाएको पाठ

बंगलादेश एउटा नयाँ मुलुक हो, जसको निर्माण सन् १९७१ मा मात्र भएको हो, पाकिस्तान टुक्रिएर । बंग्लादेशको निर्माणमा हालका अपदस्थ प्रधानमन्त्री शेख हसिनाका पिता शेख मुजिवर रहमानको योगदान रहेको छ । बेलायत सरकारले भारत स्वतन्त्र गर्दा मुस्लिमहरुको बाहुल्य भएको  इलाकालाई पाकिस्तानको रुपमा नयाँ राष्ट्र बनाएर मात्र आफूले छाड्ने शर्त राखेका थिए । यसरी पाकिस्तान त बन्यो तर उनीहरुले पूर्वी र पश्चिमी पाकिस्तान गरी बीचमा भारत राखेर दुई बेग्ला, बेग्लै क्षेत्र भएको तर एउटै देशको रुपमा पाकिस्तानलाई स्वतन्त्रता दिलाए । यसरी पाकिस्तान जन्मिदैदेखि विभानजको बिउ रोपिएको थियो । पछि पूर्वी पाकिस्तानका जनताले विद्रोह गरे, शेख मुजिवर रहमानको नेतृत्वमा र स्वतन्त्रताको आन्दोलन चर्केपछि भारतको सहयोगद्वारा नयाँ देश बंगलादेशको रुपमा निर्माण भयो । अहिले तिनै रहमानकी पुत्री शेख हसिनालाई बंग्लादेशका जनताले अपदस्थ गरिदिएका छन् ।

यसरी बंगलादेशका राष्ट्रपिता मानिएका शेख मुजिवर रहमानकी पुत्रीलाई जनताले किन रुचाएनन ? अहिले बंगलादेशमा आन्दोलन चर्किरहदा किन रहमानको शालिक तोडियो ?, भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । शेख हसिनाले बंगलादेशलाई आर्थिक रुपमा सम्पन्न पनि बनाएकै हुन् । बंगलादेश उद्योगधन्दामा दक्षिण एशियामै कहलिएको देश मानिन्छ । त्यहां प्राकृतिक ग्यास र कोइला प्रचुर मात्रामा पाइन्छ । हामी युरोप वा अमेरिकातिर गयौं र कुनै डिपार्टमेण्टल स्टोर्समा गै लुगाफाटो किन्न खोज्यौं भने मेड इन बंगलादेश भन्ने लेविल भएको थुप्रै सामानहरु पाइन्छ । बंगलादेशलाई अल्पविकसित देशबाट विकासोन्मुख देशमा स्तरोन्नत गर्ने श्रेय पनि हसिनालाई नै जान्छ । त्यति हुंदाहुंदै पनि उनी किन जनताको आक्रोशको निशाना बनिन त ? यो छोटो लेखमा त्यसबारे विश्लेषण गर्ने प्रयास गरिएको छ ।

बंगलादेशमा जनविद्रोह उठ्नुका संभावित कारण

Manakamana Cable Car

१. अहिलेका चेतनशील जनता प्रजातान्त्रिक अधिकार कुनै हालतमा खोसिएको हेर्न चाहंदैन, शेख हसिनाले पूरै विपक्षी दलले बहिष्कार गरेको धांधलीपूर्ण चुनावद्वारा १५ वर्षदेखि सत्ता कब्जा गरिरहिन, जसबाट जनता आक्रोसित थिए ।

२. आजका जनता आर्थिक औद्योगिक विकास र आर्थिक समुन्नतिबाट मात्र सन्तुष्ट हुंदैनन्, उनीहरु स्वतन्त्रतालाई सबैभन्दा बढी महत्व दिन्छन् । त्यसैले बंगलादेशले शेख हसिनाको राज्यकालमा औद्योगिक विकास गर्दै अल्प विकसित देशको तहबाट फड्को मार्दै जनताको जीवनस्तरमा सुधार गरेता पनि उनीहरु त्यसबाट सन्तुष्ट भएनन् ।

३. शेख हसिनाले ५० वर्षअघि उनका पिताले बंगलादेश स्वतन्त्र गर्दाको व्याज अहिलेसम्म खाइरहिन र स्वतन्त्रता सेनानीका आफन्तलाई सरकारी जागीरमा आरक्षण दिने जुन कुरा राखिन त्यो जनतालाई पचेन । 

४. शेख हसिनाले विद्यार्थीको शान्तिपूर्ण आन्दोलनलाई दमन गर्न खोजिन, जस्ले गर्दा हिंसात्मक आन्दोलनको ज्वाला दन्कियो ।

५. उनले विपक्षी र आम जनतालाई बन्दुकको भरमा पेलेर शासन गर्न खोजिन, जुन त्यहांका चेतनशील जनतालाई सह्य भएन ।

६. बंगलादेशका जनता नेतृत्व परिवर्तनका पक्षमा उभिए तर शेख हसिनाले सधैं आफैमात्र सत्तामा आइरहने षड्यन्त्रपूर्ण व्यवस्था मिलाएकी थिइन् । उनले विपक्षीलािई उठ्नै नसक्ने वातावरण बनाई आजीवन आफै शासक बन्ने चांजोपांजो मिलाइन्, जुन प्रत्युत्पादक हुनगयो ।

बंगलादेशबाट हामीले सिक्ने पाठ के ?

१. जनअधिकार र प्रजातन्त्र तथा स्वतन्त्र र निष्पक्ष आवधिक निर्वाचनको कुनै विकल्प छैन ।

२. कसैले ०७ साल, ०४६ साल वा ०६२/६३ को आन्दोलनमा योगदान गरेको भरमा त्यसको व्याज जिन्दगीभर खाने सपना नदेखे हुन्छ । जनता नयां र ताजा कुरा चाहन्छ, पुराना इतिहासलाई भजाएर सधैं सत्ताको वागडोर सम्हाल्न पाइन्छ भन्ने सोच अब पुरानो भैसकेको छ ।

३. केवल आर्थिक प्रगति वा विकासले जनता सन्तुष्ट हुंदैन, उनीहरु स्वतन्त्रता चाहन्छन्, प्रजातान्त्रिक अधिकारको सुनिश्चितता चाहन्छन् र उनीहरु केही नयां होस् भन्ने चाहन्छ । आजभोलि जनता विकास मात्र नभै सहभागितामूलक विकास चाहन्छन् र समावेशी आर्थिक, राजनैतिक व्यवस्था अन्तर्गत समान वितरणको अपेक्षा राख्दछ ।

४. जनताको आवाजलाई जतिसुकै शक्तिशाली बुलेटले पनि दबाउन नसक्ने रहेछ । बेलैमा उनीहरुको माग सम्बोधन गर्न सकिएन भने कुनै पनि समय आंधीवेरि आउन सक्नेछ ।

५. नेतृत्व परिवर्तनशील हुनपर्छ, पोखरीको पानी जस्तो हैन, नदी जस्तो सलल बग्ने हुन पर्छ, समयको माग अनुसार चल्न सक्ने हुनपर्छ । एकै व्यक्ति जतिसुकै सक्षम र योग्य भए पनि उसले जिन्दगीभर शासन गर्छु भन्ने सपना देख्न हुन्न । जनता नेतृत्वमा नयाँ अनुहार हेर्न चाहन्छ, त्यसैले शासनशैलीमा नयाँपन आइरहन पर्छ ।

६. शासक वा नेताले आफूलाई जनताको सेवक र सहजकर्ताको रुपमा प्रस्तुत गर्न सक्नुपर्छ नकि मालिक बन्ने वा देवत्वकरण गर्ने धृष्टता देखाउने ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  २१:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update