Aarthikaina
पाँच तेक्वान्दो खेलाडी अस्ट्रेलियाको राष्ट्रिय प्रतियोगिताका लागि छनोट

काठमाडौं । साउन २१-१३औँ दक्षिण एसियाली खेलकुद (साग)मा पदक विजेतासहित नेपालका पाँच तेक्वान्दो खेलाडी अस्ट्रेलियाको राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि छनोट भएका छन् । सिड्नीको होमबसमा सम्पन्न न्यु साउथ वेल्स स्टेट च्याम्पियनसिपबाट पाँच नेपाली खेलाडी छनोट भएका हुन् ।

१३औँ सागका कांस्य विजेता शिषिर श्रेष्ठसहित चन्दु शाही, पारस भण्डारी, मनोज श्रेष्ठ र सन्जिला तिमिल्सिना अस्ट्रेलिया तेक्वान्दोको राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन् । व्यक्तिगत पुम्से चौथो डानतर्फ शिषिर कांस्य पदक जित्न सफल भए । स्टेट च्याम्पियनसिपमा शीर्ष तीन स्थानका खेलाडीले राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउँछन् ।

Manakamana Cable Car

चन्दु शाही र सञ्जिला तिमिल्सिना महिला व्यक्तिगत पुम्से तेस्रो डानतर्फ छनोट भए । चन्दुले कांस्य र सञ्जिलाले रजत पदक जिते । पारस भण्डारी पुरुष व्यक्तिगत पुम्से (तेस्रो डान)तर्फ राष्ट्रिय प्रतियोगिताका लागि छनोट भए । उनी यस विधामा रजत पदक जित्न सफल भए ।

यसै विधामा दोस्रो डानतर्फ प्रतिस्पर्धा गरेका मनोज श्रेष्ठ भने स्वर्ण पदक जित्दै छनोट भएका छन् । सबैले ट्रेडिसनल पुम्सेमा प्रतिस्पर्धा गरेका थिए । यस च्याम्पियनसिपमा विभिन्न देशका करिब आठ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update