Aarthikaina
मन्त्री भण्डारीद्वारा निर्माण व्यवसायीको समस्या समाधान गर्ने प्रतिवद्धता  
Manakamana Cable Car

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निर्माण व्यवसायीको रकम भुक्तान नभएको विषयलाई गम्भीर रुपमा लिई सरकार समस्या समाधानको बाटोमा लागेको बताएका छन् । मन्त्री भण्डारीसँग नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंह नेतृत्वको टोलीले भेट गरी रकम भुक्तान नभएकोदेखि अन्य विभिन्न समस्याको विषयमा जानकारी गराएपछि मन्त्री भण्डारीले यस्तो बताएका हुन् । 

उनले भने, ‘सरकार निर्माण व्यवसायीको समस्या समाधानको बाटोमा लागेको छ, व्यवसायीहरुको रकम भुक्तान गरिने छ ।’ निर्माण व्यवसायीका समस्याका विषयमा सरकार गम्भीर भएको बताउँदै मन्त्री भण्डारीले निर्माण व्यवसायीहरुसँग निरन्तर संवादमा रही त्यस क्षेत्रमा देखिएको समस्या समाधान गरिने प्रतिबद्धता जनाए । 

उक्त भेटका क्रममा नेपाल निर्माण व्यवसायी महासङ्घको टोलीले नदीजन्य तथा खानीजन्य सामग्रीको उत्खननमा देखिएको समस्या समाधान गर्नुपर्ने, निर्माण सामग्रीमा कार्टेलिङ गरी हुने मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, वास्तविक जिल्ला दररेट तोकिनुपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराएको थियो । त्यस अवसरमा टोलीले निर्माण व्यवसायलाई पूर्ण उद्योगको मान्यता दिन माग गरेको थियो । 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  ०९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update