Aarthikaina
नेपाली पौडीवाज एलेक्जेन्डरद्वारा पेरिस ओलम्पिकमा नयाँ कीर्तिमान कायम

काठमाडौं । नेपाली पौडीवाज एलेक्जेन्डर शाहले पेरिस ओलम्पिक-२०२४ को पुरुष एक सय मिटर फ्रिस्टायलमा मंगलबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । पेरिस ला डिफेन्स एरिनामा उनले निर्धारित दूरी ५१.९१ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको ५२.१७ सेकेन्डको कीर्तिमानमा सुधार गरेका हुन् । 

सन् २०२४ मै एलेक्जेन्डरले ५२.१७ सेकेन्डको कीर्तिमान कतारको दोहामा भएको विश्व एक्वेटिक च्याम्पियनसिपमा बनाएका थिए । पेरिसमा एलेक्सले तेश्रो हितमा प्रतिस्पर्धा गरेका थिए । हितमा पहिलो लेनमा रहेका एलेक्जेन्डर सहभागी ८ प्रतिस्पर्धी मध्ये तेश्रो भए । समग्रमा भने एलेक्जेन्डर ५९औँ स्थानमा रहे । १० चरणको हितमा जम्मा ७९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । हितमा शीर्ष १६ स्थानमा रहने खेलाडीले सेमिफाइनलमा स्थान पक्का गरे ।

नेपाली चर्चित पौडी खेलाडी सोफियाका सहोदर भाइ एलेक्जेन्डर ५० मिटर फ्रिस्टायलका पनि राष्ट्रिय कीर्तिमानधारी हुन् । उनको नाममा २३.७९ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ । २५ मिटर लम्बाइको पौडी पोखरीमा हुने प्रतिस्पर्धा सट कोर्समा एलेक्जेन्डरको नाममा ४ राष्ट्रिय कीर्तिमान छ । उनको नाममा ५०/१०० मिटर फ्रिस्टायल र ब्याकस्ट्रोकमा गरी ४ राष्ट्रिय कीर्तिमान छ । चारै कीर्तिमान एलेक्जेन्डरले नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा बनाएका थिए ।

Manakamana Cable Car

एलेक्जेन्डरको यो दोश्रो ओलम्पिक हो । टोकिया ओलम्पिक-२०२० मा पनि सहभागी एलेक्जेन्डरले उद्घाटन समारोहको मार्च पास्टमा सागको एकै संस्करणमा स्वर्ण जितेकी गौरिका सिंहसंगै राष्ट्रिय झण्डा बोकेका थिए । पौडीमा एलेक्जेन्डरसहित २ ओलम्पिक खेल्ने ३ खेलाडी छन् ।

तीनैले लगातार ओलम्पिक खेलेका छन् । प्रसिद्धजंग शाहले २००८ को बेइजिङ र २०१२ को लन्डन ओलम्पिक तथा गौरिकाले २०१६ को रियो तथा २०२० को टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका थिए । सबै भन्दा बढी ओलम्पिकमा सहभागी हुने नेपाली खेलाडी भने पूर्व धावक बैकुण्ठ मानन्धर हुन् । उनले १९७२ देखि १९८४ को अवधिमा भएको चार ओलम्पिक लगातार खेलेका थिए ।

दक्षिण कोरिको ग्वाङजुमा सन् २०१९ मा भएको विश्व पौडी च्याम्पियनसिपमा ‘डेब्यु’ गरेका एलेक्जेन्डरले उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा ५० र १०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गरेका थिए । अमेरिकाको न्युयोर्क बस्ने एलेक्जेन्डरले अमेरिकामै पेरिस ओलम्पिकको तयारी गरेका थिए । पेरिस ओलम्पिकमा सहभागी हुन एलेक्जेन्डर अमेरिकाबाट पेरिस आइपुगेका हुन् । पेरिसबाटै न्युयोर्क जाने एलेक्जेन्डरले जानकारी दिए ।

न्युयोर्कस्थित फोर्डम विश्वविद्यालयमा साइकोलोजी अध्ययन गरिरहेका २१ वर्षीय एलेक्जेन्डर फुटबल, चित्रकला र फोटोग्राफीमा पनि रुची राख्छन् । चीनको हाङझावमा भएको १९औं एसियाली खेलकुदमा सहभागी भइसकेका एलेक्जेन्डरसंग ३ विश्व च्याम्पियनसिप खेलेको अनुभव छ ।

 सन् १९६४ को टोकियो ओलम्पिकको १८औं संस्करणदेखि नेपालले ओलम्पिकमा सहभागिता जनाउन थाले पनि पौडीमा भने नेपालीले सन् १९९६ मा अमेरिकाको एटलान्टा ओलम्पिक (२६औं संस्करण) देखि मात्र सहभागी हुन थालेको हो । यो अवधिमा लगातार सहभागी हुने क्रममा १४ पौडी खेलाडीले नेपालको चुनौती ओलम्पिकमा प्रस्तुत गरिसकेका छन् । त्यसमा पुरुष/महिलाको संख्या बराबर ७–७ छ । ओलम्पिकमा नेपाली पौडीवाजले चर्चा कमाएको २०१६ को ३१औं संस्करणको रियो ओलम्पिकमा हो । त्यो ओलम्पिकमा सहभागीमध्ये सबै भन्दा कान्छी बन्दै गौरिका सिंहले विश्वव्यापी रुपमा चर्चा बटुलेकी थिइन् ।

राष्ट्रिय कीर्तिमान बनाएपछि मिक्स जोनमा एलेक्जेन्डरले कीर्तिमान सुधार गर्न पाएकोमा खुशी व्यक्त गर्दै परिवार, प्रशिक्षक, पौडी परिवार र सरोकारवाला सम्पूर्णलाई धन्यवाद दिदै सागलगायत आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा ध्यान दिने बताए ।

पेरिस ओलम्पिकमा एलेक्जेन्डरसहित ५ खेलाडीको यात्रामा पूर्णविराम लागिसकेको छ । यसअघि पौडीकै डुवाना लामा, टेबलटेनिसका श्यान्टु श्रेष्ठ, जुडोकी मनीता श्रेष्ठ प्रधान र सुटिङकी सुस्मिता नेपाल प्रतियोगिताबाट बाहिरिसकेका छन् । अब २ खेलाडीको प्रतिस्पर्धा बाँकी छ । ब्याडमिन्टनमा प्रिन्स दाहालले बुधबार आफ्नो समूह चरणको अन्तिम खेलमा इजरायलका मिसा जिल्बरम्यानसंग खेल्ने छन् ।

एथलेटिक्सको महिला म्याराथन (४२.१९५ किलोमिटर) मा सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिकको अन्तिम दिन अगष्ट ११ तारिखमा प्रतिस्पर्धा गर्ने छिन् । सन्तोषीको स्पर्धा नै नेपालको अन्तिम प्रतिस्पर्धा हुनेछ । सन्तोषी फ्रान्सको समय अनुसार आजै राती १०:३० बजे पेरिस अवतरण गर्ने तालिका छ ।

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update