Aarthikaina
इकोसकको एसिया-प्रशान्त क्षेत्रको उपाध्यक्षमा नेपाल निर्वाचित

काठमाडौं । नेपाल संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्(इकोसक)को एसिया-प्रशान्त क्षेत्रको उपाध्यक्ष निर्वाचित भएको छ । राष्ट्रसंघका प्रमुख छ अंग मध्येको एक निकाय इकोसकको उपाध्यक्षमा नेपाल चयन भएको हो । 

शान्ति स्थापना कार्यलगायत राष्ट्रसङ्घमा नेपालको रचनात्मक भूमिका तथा यो विश्व संस्थाको उद्देश्य र सिद्धान्तप्रतिको निष्ठाका कारण उक्त पदमा नेपाल निर्वाचित भएको पूर्वराजदूत सुन्दरनाथ भट्टराईले बताएका छन् । उनका अनुसार नेपाल उक्त पदमा नियुक्त हुनु भनेको राष्ट्रका निम्ति गौरवको विषय हो । 

Chiba Education Center
NLG Insurance
Manakamana Cable Car

५४ सदस्यीय इकोसकमा नेपालको नेतृत्व संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले गर्ने छन् । आगामी वर्ष नेपाल एसिया-प्रशान्त क्षेत्रको अध्यक्ष हुनेछ । 

परिषद्मा नेपालसँगै पोल्याण्ड र कोष्टारिका पनि उपाध्यक्ष निर्वाचित भएका छन् । पूर्वी युरोपेली देशबाट पोल्याण्ड र ल्याटिन अमेरिकी एवं क्यारेबियन मुलुकहरूबाट कोष्टारिका चुनिएको संयुक्त राष्ट्रसङ्घीय सूचना केन्द्रले जनाएको छ ।

परिषद्को अध्यक्षमा क्यानडा निर्वाचित भएको छ । केन्द्रका अनुसार अफ्रिकी देशहरूबाट निकट भविष्यमा उपाध्यक्ष चयन गरिने छ ।  यसैबीच, राजदूत थापाले दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा परिषद्को कार्यादेशअनुसार सबै सदस्य राष्ट्रसँग निकट सम्पर्कमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अघिल्लो वर्षको जुनमा एसिया-प्रशान्त क्षेत्रबाट सर्वाधिक मत प्राप्त गरी सन् २०२४-२०२६ का लागि नेपाल परिषद्को सदस्य निर्वाचित भएको थियो । सामाजिक-आर्थिक विकासका माध्यमबाट समृद्धि हासिल गर्ने उद्देश्यले राष्टसङ्घको वडापत्रअनुसार सन् १९४५ मा परिषद् स्थापना भएको हो । 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update