Aarthikaina
राष्ट्रिय केन्द्रीय ब्यूरो र राहदानी विभागबीच सम्झौता

काठमाडौं । राष्ट्रिय केन्द्रीय ब्यूरो काठमाडौं(एनसिबी) र राहदानी विभागबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ । अपराध नियन्त्रण गर्ने उद्देश्यका साथ प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । आज प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच उनीहरुले उक्त समझदारी-पत्र आदानप्रदान समेत गरे । 

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले इन्टरपोलमा रहेका विभिन्न डाटावेशमध्ये एसएलटिडी (चोरी र हराएको यात्रा कागजात) डाटाबेस हाल नेपालले पनि प्रयोग गर्दै आएको र उक्त डाटावेसलाई व्यवस्थित गर्न इन्टरपोलद्वारा डब्लुआइएसडिएम (डाटा व्यवस्थापनका लागि इन्टरपोल वेब सेवा) प्रविधि इन्टरपोलका सदस्य राष्ट्रलाई आवश्यकता अनुसार प्रदान गरेको बताए । उनले डब्लुआइएसडिएमलाई प्रयोग गर्ने सम्भावनाको यकिन गर्न पाइलट फेज सञ्चालन गर्दा राहदानी विभागको सिस्टममा एकीकृत गर्न सकिने राहदानी विभागको सुझाव अनुरुप नै समझदारी भएको बताए । 

Manakamana Cable Car

महानिरीक्षक कुँवरले लामो समयदेखि हराएका, चोरी भएका तथा रद्द गरिएका राहदानीको नेपालमा मात्र नभएर वैदेशिक भूमिमासमेत आपराधिक तथा अवैधानिक प्रयोगमा नियन्त्रण तथा जानकारी प्राप्त हुने, डाटावेशमा अपडेट गर्दा त्रुटि हुने सम्भावनाको अन्त्य हुने, लामो र झन्झटिलो प्रक्रिया यस पश्चात सहज र छिटो हुनुका साथै नेपाल प्रहरी इन्टरपोल शाखा, अध्यागमन विभाग र राहदानी विभागबीचमा समेत समन्वय हुने विश्वास व्यक्त गरे । 

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले समझदारीको महत्व र औचित्यताबारे आफ्नो धारणा राख्दै राहदानीको दुरुपयोगबाट हुने अपराध नियन्त्रण गर्न यस समझदारीले सहयोग पुर्याउने जनाए । उनले आगामी दिनमा पनि नेपाल प्रहरीसँग भएको सहकार्यलाई थप व्यवस्थित बनाउँदै लैजाने बताए । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत तथा राहदानी विभागका पदाधिकारीको उपस्थिति थियो ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update