Aarthikaina
उद्यमशिलता विकास र रोजगारी सिर्जना सरकारको पहिलो प्राथमिकता: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चेम्बर पदाधिकारीसंगको भेटमा उद्यमशिलता विकास र रोजगारी सिर्जना सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी एवं कार्यसमितिका सदस्यहरुले नवनियुक्त प्रधानमन्त्री ओलीलाई बधाई एवं शुभकामना दिने क्रममा ओलीले यस्तो बताएका हुन् ।

सो क्रममा प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक अवस्था सुदृढ र प्रभावकारी परिणाम दिनेगरी काम शुरु भएको जनाएका छन् । मुलुकको समग्र आर्थिक पक्षको मूल्यांकन गरी सरकारले नीतिगत निर्णयहरु गर्दै जाने बताउँदै प्रधानमन्त्री ओलीले ढुक्क भएर लगानी एवं व्यवसायिक गतिविधी गर्न चेम्बर पदाधिकारी एवं कार्यसमितिका सदस्यहरुसंग आग्रह गरे । 

त्यस्तै, चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालसहितको पदाधिकारी एवं कार्यसमितिको टोलीले प्रधानमन्त्री ओलीसमक्ष बालुवाटारमा भेटवार्ता गर्दै नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४३बुँदे सुझाव दिएको छ । बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्रलाई चलायमान बनाउन चेम्बरले प्रधानमन्त्री ओली समक्ष आग्रह गरेको छ ।

Manakamana Cable Car

चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘करिव ४ बर्षदेखि मुलुकको अर्थतन्त्र अस्थिर अवस्थामा छ । कोभिड महामारीको प्रभाव, रुस युक्रेन युद्धले विश्वव्यापी आपूर्ति श्रीङखलामा पारेको असर एवं पछिल्लो ३ बर्षदेखिको निरन्तर संकुचित नीतिहरुले आर्थिक गतिविधिमा शिथिलता उत्पन्न भएको छ ।’ चालु आर्थिक वर्षको बजेट र आगामी मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने अध्यक्ष कमलेश कुमार अग्रवालले बताए । 

आर्थिक गतिविधिमा आएको संकुचनले माग र आपूर्तिबीच असन्तुलन, निजी क्षेत्रको सम्पत्तिमा संकुचन एवं बैंक तथा वित्तीय संस्थामा तरलता भएपनि निजी क्षेत्रमा लगानीप्रति आर्कषण नभएकोप्रति अध्यक्ष अग्रवालले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए । मुलुकको अर्थतन्त्रमा झण्डै ८१ प्रतिशत लगानी भएको निजी क्षेत्रमा वित्तीय सहजीकरण हुनुपर्ने चेम्बरले उल्लेख गरेको छ ।

काठमाडौंलगायत मुलुकका अधिकांश ठूला सहरमा ब्यापारिक सटर बन्द भएकोप्रति चेम्बरले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको छ । उच्च अंकको आर्थिक वृद्धिदर हासिल गर्न स्थायी रुपमै एकल अंकको ब्याज कायम हुनुपर्ने चेम्बरको ठहर छ । मौद्रिक नीतिको आगामी कार्यदिशा पूर्ण रुपले विस्तारित एवं खुकुलो र लचिलो हुनुपर्नेमा पनि चेम्बरले जोड दिएको छ । निजी क्षेत्रमा प्रवाह हुने कर्जालाई सहजीकरण गरिनुपर्ने चेम्बरले जनाएको छ । 

आर्थिक मन्दीबाट उन्मुक्ती नपाउन्जेलसम्ममा उद्यमी व्यवसायीहरुलाई चालु पुँजीको उपलव्धता सरल र सहज तवरले हुनुपर्ने एवं हाल जारी चालुपुँजी कर्जा निर्देशिकालाई तत्काल स्थगित गरिनुपर्नेमा चेम्बरले जोड दिएको छ । यस्तै, घरजग्गा कारोबारलाई थप गति दिन ५० लाखभन्दा माथिको कर्जाका शतप्रतिशत जोखिमभार कायम गरिनुपर्ने चेम्बरको माग छ ।

चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अहिले घरजग्ग खरिद बिक्रीको क्रममा विगतको सम्पत्तिको श्रोतलाई मान्यता नदिएर चालु नाफाको श्रोतलाई नै आधार बनाई घरजग्गा कारोबारलाई मान्यता दिन मालपोत कार्यलयबाट अपनाईएको प्रक्रियाले गर्दा घरजग्गा कारोबारमा शिथिलता आएको छ ।’ घरजग्गाको कर्जा प्रवाहमा हुने मूल्यांकनको सीमा ७०-३० बाट बढाएर ८०-२० को अनुपात कायम गरिनुपर्नेमा पनि चेम्बरले जोड दिएको छ । 

चेम्बर सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठले उत्पादन वृद्धि र रोजगारी सिर्जनामा निजी क्षेत्रको योगदान महत्वपूर्ण भएकाले नीतिगत सहजिकरण गरिदिनुपर्ने बताए । वर्तमान समयमा व्यवसायीहरु निकै हतोत्साही भएको उनको भनाई छ । युवा पलायान रोक्नका लागि औद्योगिक र व्यवसायिक वातावरण बनाउनुपर्नेमा श्रेष्ठले जोड दिए । 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update