Aarthikaina
एक लाख अमेरिकी डलर पुरस्कार राशीको हल्ट प्राइजमा भाग लिन विद्यार्थी मुम्बई प्रस्थान 

काठमाडौं । विद्यार्थीहरूको लागि नोबेल पुरस्कारका रूपमा परिचित हल्ट प्राइजको सेमिफाइनल प्रतिष्पर्धामा भाग लिन नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरु मुम्बई प्रस्थान गरेका छन् । विद्यार्थीहरूलाई रचनात्मक र सामाजिक उद्यमहरू विकास गर्न प्रोत्साहित गर्ने विश्वकै प्रतिष्ठित हल्ट प्राइजको नयाँ संस्करणमा कलेजका तीन जना विद्यार्थीहरु छनौट भएका थिए ।

एक लाख अमेरिकी डलर पुरस्कार राशी भएको हल्ट प्राइजको अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा भाग लिन कलेजका लजिता भट्ट, लिजा तामाङ र साइम मानन्धर जुन ७ र ८ मा भारतको मुम्बईमा हुने प्रतिष्पर्धामा भाग लिने मौका पाएका हुन् । उनीहरुलाई बुधबार कलेजले खादा तथा अविर लगाएर विदाईसमेत गरेको छ ।

Manakamana Cable Car

प्रतिष्पर्धामा भाग लिन जाने विद्यार्थीहरुलाई विदाई गर्दै कलेजका कार्यवाहक प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले नेपालको तथा कलेजको नाम उच्च राख्ने गरी प्रतिष्पर्धामा भाग लिन आग्रह गरे । ‘तपाईहरु कलेजको प्रतिनिधि भएर मात्र हैन देशकै प्रतिनिधित्व गरेर जाँदै हुनुहुन्छ, आत्मविस्वासका साथ भाग लिनुहोला’, कार्यवाहक प्रिन्सिपल भण्डारीले भने । 

प्रतिष्पर्धामा भाग लिइरहेका विद्यार्थीहरुले कलेज तथा देशको नाम उच्च राख्ने गरी आत्मविश्वासका साथ प्रतिष्पर्धा गर्ने बताए । ‘हाम्रो कन्सेप्ट पृथक र जीवनोपयोगी छ । विश्वब्यापी प्रतिष्पर्धामा हामीले शतप्रतिशत राम्रो गर्देछौं’, विद्यार्थी लजिता भट्टले भनिन् ।  उनका अनुसार यो पटकको ग्लोवल प्रतिष्पर्धामा उनीहरुले तयार पारेको अवधारणाले सबैको ध्यान खिच्नेछ । अवधारणा भने प्रतिष्पर्धामा भाग लिएपश्चात मात्र सार्वजनिक गर्ने उनीहरुको सोच छ ।

यो वर्ष हल्ट प्राइजले सामाजिक उद्यम र संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरु मध्ये कम्तिमा एउटा विषयलाई संवोधन गर्दै प्रतिष्पर्धा आयोजना गरिरहेको छ । प्रतियोगितामा नेपाल इन्जिनियरिङ कलेजसँगै कसमस इन्जिनियरिङ कलेज, पुल्चोक क्याम्पस, त्रिभुवन विश्वविद्यालय लगायतले समेत सहभागिता जनाएका छन् ।

प्रतिष्पर्धामा ३ देखि ५ जना विद्यार्थीको समुह बनाएर भाग लिने प्रावधान छ । नेपाल इन्निनियरिङ कलेजले विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय एक्सपोज प्रदान गर्न हल्ट प्राइज लगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतिष्पर्धा र कार्यक्रमहरुमा कलेजकै खर्चमा पठाउने गरेको कलेजले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  ०९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update