Aarthikaina
ओलम्पियन एसोसियसनद्वारा हुम्लामा ‘स्कुल टु ओलम्पिक कार्यक्रम’

हुम्ला । नेपाल ओलम्पियन एसोसियसनले कर्णालीको हुम्लामा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम सञ्चालन गरेको छ । हुम्ला जिल्ला खेलकुद विकास समितिको आयोजनामा आइतबार सदरमुकाम सिमकोटमा भएको कार्यक्रममा ओलम्पियनहरुले आफ्ना संघर्ष र सफलताका कथा सुनाएका थिए ।

नेपाल ओलम्पियन संघका महासचिव ओलम्पियन राजेन्द्र भण्डारीले दृढ इच्छाशक्तिले नै हरेक बालबालिकालाई सफलतातर्फ उन्मुख गराउने बताए । विश्वकीर्तिमानी धावक ओलम्पियन हरिबहादुर रोकायले दुर्गम जिल्ला जुम्लाबाट करिअर सुरु गर्दा पनि निरन्तर लगावका कारणले आफुले सफलता हासिल गरेको अनुभव सुनाए ।

Manakamana Cable Car

त्यसैगरी, ओलम्पियन देवु थापाले अभिभावकलाई विश्वास दिलाउन सके हरेक किशोर किशोरीलाई खेलतर्फ लाग्न कठिन नभएको बताइन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले हरेक बालबालिका शारीरिक र मानसिक रुपमा स्वस्थ राख्न सानैदेखि खेलकुदमा अभिरुची दिलाउन शिक्षक तथा अभिभावकलाई आग्रह गरे । तेक्वान्दोकी राष्ट्रिय खेलाडी सीता तामाङले जुम्बा प्रदर्शन गर्नुका साथै ओलम्पियन देबुसँगै आत्मरक्षासम्बन्धी प्रशिक्षण गराएकी थिइन् । 

नेपालकै अति दुर्गम मानिएको कर्णाली प्रदेशको हुम्लामा महत्वपूर्ण कार्यक्रम गरेकोमा कर्णाली खेलकुद परिषदका उपाध्यक्ष प्रमोद हमालले नेपाल ओलम्पियन एसोसियसनलाई निरन्तर सघाउने प्रतिवद्धता जनाए । स्कुले किशोरकिशोरीलाई सानै उमेरदेखि खेलकुदमा अभिरुची जगाउन नेपाल ओलम्पियन एसोसियसनले स्कुल टु ओलम्पिक कार्यक्रम सञ्चालन गरेको हो । यसैक्रमा एसोसियसनले कार्यक्रममा भाग लिएका विद्यालयलाई झण्डै एक लाख बराबरको खेल सामग्री हस्तान्तरण गरेको छ ।

एसोसियसनका महासचिव ओलम्पियन राजेन्द्र भण्डारीले विद्यालय प्रतिनिधिलाई खेलसामग्री हस्तान्तरण गरेका थिए । महासचिव भण्डारीले कर्णाली प्रदेश खेलकुद विकास परिषदलाई कार्यक्रम सफल पार्न सहयोग गरेकोमा आभार व्यक्त गरे । हुम्ला जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद बोहराले स्वागत गर्ने क्रममा ओलम्पियन खेलाडीहरुको अनुभव सुन्न र सुनाउन पाउनु हुम्लावासीको सौभाग्य भएको चर्चा गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  ०७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update