Aarthikaina
निर्जीवन बीमा व्यवसायी संघद्वारा धितोपत्र बोर्डलाई सुझाव
Manakamana Cable Car

काठमाडौं । नेपालमा सञ्चालनमा रहेको निर्जीवन बीमा कम्पनीका लगानीकर्ताहरुको छाता संगठन नेपाल निर्जीवन बीमा व्यवसायी संघले आइतबार नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारीसँग भेट गरी संघको तर्फबाट सुझावहरु प्रस्तुत गरेको छ । संघका पदाधिकारीहरुबाट हाल सञ्चालकहरुको शेयर पदमा रहदा र पदबाट हटेको एक बर्षसम्म पनि बिक्री गर्न नपाइने व्यवस्थाले गर्दा कैयौं बर्षदेखि लगानीकर्ता सञ्चालकहरुले आफूलाई व्यक्तिगत रुपमा अप्ठ्यारो परेको बखतमा शेयर बिक्री नपाउदा समस्या परेकोलगायत सुझाव संघले प्रस्तुत गरेको हो । 

साथै, सबै लगानीकर्ताहरु जस्तै सञ्चालकहरु समेत कम्पनीको लगानीकर्ता नै रहेको र लगानीकर्ताहरुको तर्फबाट निर्वाचित भई सञ्चालक समितिमा प्रतिनिधित्व गरेको भरमा आफूसँग रहेको शेयर सधैं रोक्का नै गरिराख्नु न्यायोचित नहुने हुंदा सो प्रावधानलाई पुनरावलोकन गर्न अनुरोध गरेको छ । भारतलगायत अन्य मुलुकमा पनि अग्रिम रुपमा सञ्चालकले घोषणा गरेर शेयर बिक्री गर्ने व्यवस्था रहेको र नेपालमा पनि त्यस्तै व्यवस्था गरी वा नियमानकारी निकायको स्वीकृति लिई निश्चित सीमासम्म आफ्नो शेयर बिक्री गर्न सकिने व्यवस्था गर्न संघले बोर्डको ध्यानाकर्षण गराएको छ । 

उक्त भेटघाटमा संघका तर्फबाट अध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष मनोहर दास मुल, कोषाध्यक्ष रमेश कुमार निरौला, सदस्य आजाद श्रेष्ठ एवं बालकृष्ण श्रेष्ठ गायतको उपस्थिति थियो ।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  ०९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update