Aarthikaina
चेम्बरद्वारा देशको अर्थतन्त्रको वर्तमान अवस्थाबारे एमाले अध्यक्ष ओलीको ध्यानाकर्षण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले देशको अर्थतन्त्रको वर्तमान अवस्थाबारे ध्यानाकर्षण गराउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल, निर्वतमान अध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्ष एवं चेम्बर सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठ एवं चेम्बरका पदाधिकारी टोलीले भक्तपुरको बालकोटस्थित  निवासमा ओलीसँग भेटवार्ता गरेको हो ।

अर्थतन्त्र शिथिलताबाट गुज्रिरहेको भन्दै सरकारको नीति तथा कार्यक्रम र बजेटमार्फत सम्बोधन गर्नुपर्ने विषयमा चेम्बरले एमाले अध्यक्ष ओलीको ध्यानाकर्षण गराएको हो । अध्यक्ष अग्रवालले अर्थतन्त्रमा आएको मन्दीले निजी क्षेत्रको सम्पत्तिमा ५० प्रतिशतसम्मको गिरावट आएको बताए । शिथिल अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन आर्थिक र वित्तीय नीतिमा सहजीकरण गर्नुपर्ने अध्यक्ष अग्रवालको भनाई छ ।

Manakamana Cable Car

वित्तीय र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्रलाई चलायमान एवं निजी क्षेत्रको मनोवल उकास्नुपर्ने बेला आएको अध्यक्ष अग्रवालले धारणा राखे । उनले भने, ‘विगतमा लिएका संकुचित नीतिहरुका कारणले अर्थतन्त्र हाल शिथिल अवस्थामा पुगेको छ । व्यापार असहजीकरण, शेयर बजारको संकुचन, घरजग्गा कारोबारमा सुस्ततालगायतका कारणले आर्थिक गतिविधि खुम्चिएको छ, सरकारको नीति तथा कार्यक्रम अर्थतन्त्रलाई चलायमान गराउने गरी आउन आवश्यक छ ।’

आयकर ऐन २०५८ का अधिकांश प्रावधानहरु स्पष्ट नहुँदा अन्तशुल्क, भन्सार आदिमा पछिल्लो समय भूत प्रभावी दायित्वहरु देखापरेको भन्दै अन्त्य गर्न चेम्बरले अध्यक्ष ओलीको ध्यानाकर्षण समेत गराएको छ । चेम्बर अध्यक्ष अग्रवालले सहकारी क्षेत्रमा देखिएको वेथिति अन्त्यका लागि अविलम्व पहल गर्न पनि अध्यक्ष ओलीसमक्ष आग्रह गरे । 

चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ ‘सहकारी क्षेत्र समस्याग्रस्त हुँदा साना, मझौला उद्यमी व्यवसायीहरु पीडित भएका छन । सहकारी क्षेत्रको समस्या अविलम्व समाधान हुनुपर्दछ ।’ विगतमा चरम आर्थिक मन्दीका कारण पीडित उद्यमी व्यवसायीहरुलाई कुनै जरिवाना लाग्ने अवस्था आएमा पूर्ण छुट दिने व्यवस्था गर्नुपर्ने धारणा चेम्बरले राखेको छ ।

यस्तै, करका कारण विवादित मुद्धाहरुको यथाशिघ्र समाधानका लागि कर व्यवस्थापन आयोग गठन गर्न पनि चेम्बरले माग गरेको छ । चेम्बर पदाधिकारीसँगको भेटका क्रममा एमाले अध्यक्ष ओलीले राष्ट्रिय हितलाई सर्वोपरी ठानेर सरकारले नीति तथा कार्यक्रम ल्याउने बताए । निजी क्षेत्रको समस्या समाधानका लागि आफूले पहल गर्ने अध्यक्ष ओलीले बताए । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update