Aarthikaina
श्याम ज्यापुको पौभा: कला पाटन संग्रहालयमा प्रदर्शन 

योङ्ग पिकासो कला र कलाकारहरुको खाोजी, सम्मान, सम्बर्द्धन र कला श्रृजनाकै माध्यमबाट आर्थिक रुपमा पनि उठाउन लागिपरेको एउटा अभियान हो । यसका सम्बर्द्धक तथा निर्देशक हुन, अजय देशार । उनै अजय देशारको सम्बर्द्धकत्वमा गत बिहिबारदेखि चित्रकार श्याम ज्यापुको पौभा चित्रकलाको एकल प्रदर्शनी पाटन संग्रहालयमा सुरु भएको छ ।

निःशुल्क प्रवेशसहित पाटन दरबार संग्रहालयमा आयोजित एक कार्यक्रमबीच नेपालका लागि श्रीलंकाली राजदूत सुदर्शना पाथिरानाले प्रदर्शनीको समुद्घाटन गरेकी हुन् । कलाकार ज्यापुले ३ दशक अघिदेखि कोरेका तारा, बसुन्धरा, बज्रयोगिनी, बज्रवाराही आर्यतारा, लोकेश्वर जस्ता नारी पात्रका बौद्ध देवी पौभाका कला संग्रहालयमा प्रदर्शनीमा राखिएका छन् । 

Manakamana Cable Car

राजदूत पाथिरानाले क्यानभासमा चित्र कोर्दै प्रदर्शनीको उद्घाटन गरेकी थिइन् । समारोहमा सम्बोधन गर्दै पाथिरानाले नेपाल र श्रीलंकको सम्बन्ध सांस्कृतिक र ऐतिहासिक रुपमा जोडिएको बताइन् । बुद्ध धर्मसँग सोझै जोडिएको पौभा चित्र नेपालको शान रहेको बताउँदै पाथिरानाले आगामी दिनमा नेपाल र श्रीलंकाको सम्बन्ध कला र संस्कृतिले जोड्न सक्ने बताइन् ।

नेपालमा विगत लामो समयदेखि नेपाली कलासँग सम्बन्धित कार्यक्रममा नेपालस्थित श्रीलंकाली राजदूतावास सहभागी हुने पाइएको बताउँदै राजदूत पाथिरानाले श्रीलंका र नेपालको सम्बन्ध कलाको आदानप्रदानबाट थप उचाइमा पुग्ने धारणा राखेकी थिइन् ।

पौभा चित्रकार श्याम ज्यापूले आफ्नो जीवनको चित्रकलाको लामो यात्रामा यो प्रदर्शनीले छुट्टै महत्व राख्ने बताए । नेपालको मौलिक पौभा चित्र कोर्ने चलन विस्तारै हराउँदै गएको वर्तमान समयमा प्रदर्शनीले पौभा चित्रकलाको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने चित्रकार ज्यापूको विश्वास थियो ।

आयोजक संस्था योङ्ग पिकासोका निर्देशक अजय देशारले नेपाली मौलिक चित्रकलामा पौभा चित्रकला महत्वलाई उजागर गर्न प्रदर्शनी आयोजना गरिएको जानकारी दिए । चित्रकार देशारले कलाकारको आर्थिक जीवनलाई समृद्ध बनाउन चित्रकला व्यावसायिक बन्नुपर्नेमा जोड दिए । 

उद्घाटन कार्यक्रममा राजदूत पाथिरानासहित पाटन संग्रहालयकी कार्यकारी निर्देशक मञ्जु सिंह, सातुआकी प्रतिभा समाजका सचिव किरण शाक्य, खजुरिको प्रमुख जगन्नाथ महर्जन, उद्योग वाणिज्य संघ ललितपुरका पूर्व अध्यक्ष अजरमान जोशी, वुद्धधर्मका अध्ययनकर्ता शाक्य सुरेन, चित्रकार उदयचरण श्रेष्ठ, समुद्रमानसिंह श्रेष्ठसहित चित्रकार र कलाकारहरुको बाक्लो उपस्थिति थियो ।
आजसम्म (बैशाख २२ गते) प्रदर्शनीमा राखिएको चित्रकार ज्यापूले सिर्जना गरेका ३२ वटा पौभा चित्रहरु प्रदर्शनीमा राखिएका छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update