Aarthikaina
नेपाल चेम्बर र क्रोएसियाबीच व्यवसायिक सहकार्यको समझदारी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यवसायिक प्रतिनिधिमण्डलबीच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ । काठमाडौंमा भएको अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा चेम्बर र क्रोएसियाका व्यवसायिक प्रतिनिधिमण्डलबीच व्यापार सहजीकरण एवं पर्यटन क्षेत्रमा लगानीका विषयमा समझदारी भएको नेपाल चेम्बरले जनाएको छ ।

अन्तर्राष्ट्रिय लगानी सम्मेलनका क्रममा चेम्बरले, जलविद्युत, होटललगायतका क्षेत्रमा १ दर्जन योजनालाई लगानीका लागि सोकेसमा राखेको छ । क्रोएसियाका व्यवसायिक प्रतिनिधिमण्डल समक्ष चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल अन्तर्राष्ट्रिय लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताए ।

Manakamana Cable Car

अन्तर्राष्ट्रिय लगानी सम्मेलनका क्रममा चेम्बर र क्रोएसियाका पदाधिकारीहरुबीच नेपालमा लगानीको वातावरण, प्रतिफल, उपभोक्ता बजार, कानुनी पाटो लगायतका विषयमा छलफल भएको थियो । चेम्बर अध्यक्ष अग्रवालले नेपालमा रहेको श्रमशक्ति, मूल्य, प्रतिफलको सुनिश्चितता लगायतका कारण लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताए ।

नेपालबाट निर्यातजन्य बस्तुहरुको उत्पादन वृद्धि, भन्सार सहजीकरण जस्ता विषयमा क्रोएसियाको निजी क्षेत्रसँग सहकार्य गर्न नेपाल चेम्बर अफ कमर्स सदैव तयार रहेको अध्यक्ष अग्रवालले बताए । उनले पर्यटन, जलविद्युत, प्राकृतिक श्रोत, साना तथा मध्यमखाले उद्योगमा लगानीको प्रशस्त सम्भावना रहेकोमा जोड दिए । चेम्बर र क्रोएसियाका निजी क्षेत्रका प्रतिनिधिबीच व्यवसायिक सहकार्य गर्ने समझदारी समेत भएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update