Aarthikaina
एपीएफ छैटौं पटक च्याम्पियन

काठमाडौं । साविक उपविजेता नेपाल एपीएफ क्लबले सातौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा एपीएफले अर्को विभागीय टोली नेपाल प्रहरीलाई २५–२२, २६–२४ र २५–१९ को सोझो सेटमा पराजित गर्यो ।

एपीएफकी पूजा थारु फाइनलको ‘प्लेयर अफ दि म्याच’ घोषित भइन् । सातौं संस्करणको समाप्तिमा एपीएफ छैटौंपटक च्याम्पियन बन्यो । छैटौं संस्करणमा मात्र एपीएफ उपविजेतामा सीमित भएको थियो । त्यो संस्करणको फाइनलमा एपीएफ न्यु डायमन्डसंग चुकेको थियो । अपराजित रहँदै उपाधि जितेको एपीएफले राउन्ड रोविन लिगमा प्रहरी, आर्मी र न्यु डायमन्डलाई हराएको थियो । विजेता एपीएफले चार लाख ९९ हजार तथा उपविजेता प्रहरीले दुई लाख ५० हजार नगद पुरस्कार पाए ।

Manakamana Cable Car

केएनपी नेरोलेकको मुख्य प्रायोजनमा शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन न्यु डायमन्डले तेश्रो स्थानमा चित्त बुझायो । तेश्रो स्थानका लागि भएको खेलमा न्यु डायमन्डले नेपाल आर्मीलाई २४–२६, २५–२०, २५–१५ र २५–२० ले पाखा लगायो । राउन्ड रोविन लिगमा पनि न्यु डायमन्डले आर्मीलाई हराएको थियो । न्यु डायमन्डकी रिमा कुँवर ‘प्लेयर अफ दि म्याच’ बनिन् । न्यु डायमन्डले १ लाख २५ हजार तथा आर्मीले ६२ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

एपीएफकी निरुता ठगुन्ना सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै ५० हजार नगदबाट पुरस्कृत भइन् । प्रहरीकी लक्ष्मी चन्द उत्कृष्ट स्पाइकर, एपीएफकी कविता भट्ट उत्कृष्ट सर्भर, न्यु डायमन्डकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर, एपीएफकी जसना महतो उत्कृष्ट सेटर, प्रहरीकी शान्तिकला तामाङ उत्कृष्ट लिबेरो तथा एपीएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक चुनिए । आ–आफ्नो विधामा उत्कृष्ट हुनेले जनही २५ हजार नगद पुरस्कार जिते ।

7-1714276025.JPG
 

हरेक खेलको ‘प्लेयर अफ दि म्याच’ लाई १५ हजारका दरले नगद पुरस्कार प्रदान गरिएको थियो । विजेतालाई प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारी, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, आयोजक प्रतिष्ठानकी संरक्षक गमली खड्कालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चारदिने प्रतियोगितामा ४ टिमले प्रतिस्पर्धा गरेको आयोजक प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जनाएका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update