दोलखा । दोलखा भीमेश्वर मन्दिरमा चुडामणी(चुल्काप्सी) स्तम्भ जिर्ण हुँदै गएकाले यही बैशाख ६ गते दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिले नयाँ चुडामणी व्यवस्थापन गरेको छ । दोलखा भिमेश्वर मन्दिरको पछाडी रहेको सालको ९/९ इन्चको लम्बाइ र चौडाइ, जमिन मुनी ५ हात र जमीन माथि देखिनु पर्ने १६ हात(३२ फीटको) उचाइ रहेको चुलीका सिं(चुडामाणी स्तम्भ) ठड्याइएको हो ।
भीमेश्वर भण्डारमा रहेको ताम्रापत्र स्वर्णपत्रको आधारमा यो स्तम्भ फेरिएको लिखित प्रमाणको अनुसार वि.सं. १७११, १७७३, १८२६ सालहरुमा यो स्तम्भ फेरिएको पाइन्छ । यसरी अनुमान गर्दा करिव ५० देखि ७० वर्षको अन्तरालमा चुडामणी(चुल्काप्सी) स्तम्भ फेरिएको पाइन्छ । स्तम्भ फेरिएको लिखित प्रमाणहरु पाइएको छैन । पछिल्लो पटक हालको यो स्तम्भ २००९ साल असारमा फेरिएको हो र करिब ६१ साल पछि २०७० चैत्र महिनाको २० गते सो चुडामणी स्तम्भ ढलेको थियो ।
त्यसबेला यो चुडामणी भीमेश्वर नगरपालिका वडा नं.२ घर भई हाल काठमाडौं लाजिम्पाट निवासी नरेन्द्रबहादुर श्रेष्ठसहित उनका परिवारको संयुक्त सहयोगमा २०७० चैत्र २३ गतेका दिन स्तम्भ पुनः प्रतिस्थापना गरिएको भीमेश्वर गुठी व्यवस्थापन समितिका अध्यक्ष भरत बहादुर श्रेष्ठले जानकारी गराए ।
साथै, चुडामणी स्तम्भ ढल्यो भने नयाँ स्तम्भ नठड्याउन्जेलसम्म भीमेश्वरमा कोरा पूजा बाहेक अन्य पूजा गर्न नहुने मान्यता रहेको अध्यक्ष श्रेष्ठले बताए । यसरी २०७० साल चैत्र २३ गते प्रतिस्थापन गरिएको चुडामणी(चुल्काप्सी) पुन: ढल्ने र भाचिने सम्भावना बढ्दै गएकोले अहिले नयाँ चुडामणी(चुल्काप्सी)को व्यवस्थापन गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताए ।
सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं.७ स्थित माजिटार स्थित श्री ९ बाहीनी अड्डाको कम्पाउण्डमा रहेको रुख जिल्ला बागमती प्रदेश वन मन्त्रालय अन्तर्गत वन डिभिजन कार्यालय सिन्धुलीलगायत सम्बन्धित निकायको स्विकृतबाट चुडामणी (चुल्काप्सी) काठ उपलब्ध गराईएको छ भनी भीमेश्वर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष विराजमान श्रेष्ठले बताए ।
यसरी चुडामणी(चुल्काप्सी)को लागि रुख काट्न जादा दोलखाको स्थानीय बाजागाजा, भजन मण्डली टोली, पुरोहित र व्यवस्थापन समितिका पदाधिकारी, सदस्यहरु, सल्लाहकार तथा शुभचिन्तक, दोलखावासीहरुको उपस्थिती रहेको थियो । पूजा कार्यक्रम विशेष सहयोग गर्ने भीमेश्वर नगरपालिका वडा नं.४ घर भई हाल श्री ९ बाहीनी अड्डामा कार्यरत क्याप्टेन गणेश कार्कीको विशेष सक्रियता र सहयोगमा बाहिनी अड्डा उक्त चुडामणीको रुख कटान गर्न सहयोग पुगेको उपाध्यक्ष विराजमान श्रेष्ठले बताए ।
यसैगरी, उक्त चुडामणी ल्याउनको लागि दोलखाका स्थानीय पुरोहीत काशिनाथ सापकोटा, जेष्ठ नागरिक दिक्षाकर्म थाकती जेष्ठ नागरिक यज्ञकुमार प्रधान र बाहीनी अड्डाका पुरोहित बाजेको सामूहिक पाठपूजा र दिक्षाकर्म पूजाबाट ५ गते बेलुका जागरम पूजा गरिएको थियो । यस अवसरमा संस्कृतिप्रेमी भगवानदासको नेतृत्वमा भजन मण्डली र स्थानीय बाजागाजा टोलीहरुको सहभागीता रहेको थियो ।
यसरी बाजागाजासहित ५ र ६ गते पूजा पुरोहीत, थाकतीबाट पूजा सम्पन्नपश्चात व्यवस्थापन समितिका उपाध्यक्ष विराजमान श्रेष्ठले रुख कटानको लागि विधिवत पूजा गरिएको जानकारी गराए । कोषाध्यक्ष शुरेस श्रेष्ठका अनुसार दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिको तर्फबाट चुडामणी (चुल्काप्सी)का लागि रुख उपलब्ध गराउन सहयोग गर्ने बागमती प्रदेश मन्त्रालय, सचिवहरु जिल्ला बन डिभिजन कार्यालय सिन्धुली, सिन्धुली जिल्ला प्रमुख जिल्ला अधिकारी, श्री ९ बाहीनी अड्डाका सेना प्रमुख, प्रहरी प्रमुखलगायत स्थानीय भजन मण्डली, बाजा टोलीहरुलगायत उपस्थिती भई सहयोग र सद्भाव राख्ने सम्पूर्णमा आभारसहित धन्यवाद व्यक्त गरिएको छ ।
यसरी सम्पन्न पूजा कार्यक्रममा दोलखाबाट भिमेश्वर व्यवस्थापन समितिका उपाध्यक्ष विराजमान श्रेष्ठ, कोषाध्यक्ष सुरेश कुमार श्रेष्ठ, सदस्य ज्ञानेन्द्र प्रधान, सल्लाहकार अधिवक्ता प्रवीण प्रधान, पदेन सदस्य एवं भीमेश्वर नगरपालीका वडा नं.२ का वडाध्यक्ष स्टालिन श्रेष्ठ, जेष्ठ नागरिक दिक्षाकर्म थाकती यज्ञकुमार प्रधान, पुरोहित काशिनाथ सापकोटा, भजन मण्डलीमा भगवानदास श्रेष्ठ, बिरबहादुर शिवभक्ती, तुलसी नारायण जोशी, प्रेमकृष्ण श्रेष्ठ, अमृतबहादुर श्रेष्ठ, मनिल श्रेष्ठ, मुकेश गिरी, बाद्यवादमा ईन्द्रलाल श्रेष्ठ, टहलुवा श्यामकुमार श्रेष्ठ, कालिमन्दीर पूजारी सुरज श्रेष्ठ, सहनाई बिरबहादुर कुसुले र बाँपिझ्याला डटकमका सम्पादक उपेन्द्र प्रधानको सहभागीता रहेको थियो ।
चुडामणी(चुल्काप्सी) के हो ?
प्राचिन शहर दोलखास्थित साक्षात भगवान भिमेश्वर भगवान रहेको बताइएको छ । जसको आफ्नै महिमा रहेको पाईन्छ । बागमती प्रदेश, दोलखा जिल्लाको प्रदेश निर्वाचन क्षेत्र नं.२ अन्तर्गत तत्कालिन दोलखा स्वतन्त्र राज्यको राजधानी द्वालखा, साविक पूर्व दोलखा गाविस वडा नं.९ हाल भीमेश्वर नगरपालिका वडा नं.२ मा अवस्थित दोलखाको श्री भीमेश्वर(भीमसेन) हिन्दु राज्यको महत्वपूर्ण धार्मिक तीर्थस्थलहरु मध्ये एक धार्मिक तीर्थस्थलको नामबाट प्रख्यात छ ।
आदिम कालदेखि नै हिन्दु धर्मावलम्विहरु साथै विभिन्न धर्मावलम्विहरुको आस्थाको केन्द्रविन्दु रहेको भीमेश्वर मन्दिर विश्वमा नै अति प्रख्यात पाएको धार्मिक तीर्थस्थल मध्ये एक हो । प्राचिन कालदेखि नै यस शिलालाई एक शिला तीन अवतार मान्दै आएकोमा हाल आएर अध्ययनबाट दिशक्ति, महाशक्ति, परमशक्ति, देवादिदेव सहस्र अवतारको अवतार श्री भीमेश्वर, श्री भीमसेन, श्री भीमाशङ्कर ज्योतिलिङ्ग, श्री भीम नारायण, श्री भीम भैरव, श्री भगवती, श्री भीमराणेश्वर आदि निरञ्जन निराकार भगवानको रुपमा पुज्ने गरिएको छ ।
यसरी ख्यातीप्राप्त दोलखा भिमेश्वर अनि मन्दिरको पछाडी रहेको सालको ९/९ इन्चको लम्बाइ र चौडाइ, जमिन मुनी ५ हात र जमीन माथि देखिनु पर्ने १६ हात(३२ फीटको) उचाइ रहेको चुलीका सिं(चुडामाणी स्तम्भ) ठड्याइएको छ । यो डामणीको महिमा ठुलो छ ।
भीमसेनलाई इश्वरको रुपमा रुद्री गरिन्छ, भीमनारायणको रुपमा राज पुजा गरिन्छ, भीम भैरवको रुपमा वा भगवतीको रुपमा मेष बली पनि दिइन्छ, यो मसेनलाई भक्तजनहरुले आ–आफ्नो भक्ति अनुसार विभिन्न रुपमा पूजा गरिने भएकोले यो चुडामणी स्तम्भ स्थापना गरिएको पाईन्छ । मेषबली तथा अन्य वली पूजा गर्दा, भीमेश्वर शिलामा विशेष मुकुट(भगवतीको मुकुट) पहिर्याइ सेतो खाताले(सेतो कपडा)ले बेह्री चुडामणीमा लगेर बाँधिन्छ अनिमात्र मेष बली दिइन्छ । त्यसै गरि रुद्र महादेवको रुपमा रुद्रि पूजा गर्दा डिकी डोरा(काँचो धागोले निर्मित डोरा) भीमेश्वरको शिलाबाट उक्त स्तम्भमा बाँधिन्छ ।
यसो गर्नुको तात्पर्य भक्तजनहरुले जुन भगवानको आराधाना गर्छन सोहि भगवान त्यसैको मार्ग भएर शिलामा विराजमान हुन्छ र अन्य भगवान डामणी स्तम्भको आसनमा गएर बस्छ भन्ने कम्विदन्ती रहेको छ । यसैगरी यो स्तम्भ सालको काठबाट निर्मित भएको हुनाले निश्चित अवधिमा ढल्छ र स्तम्भ फेर्नु पर्दछ । यो स्तम्भ अँधेरीको जङ्गलबाट ल्याउनु पर्ने इतिहासमा उल्लेख रहेको छ ।