Aarthikaina
नेपाललाई हराउँदै युएई एसिसी प्रिमियर कपको फाइनलमा

 काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाललाई ६ विकेटले हराउँदै युएई फाइनलमा पुगेको हो ।

योसँगै नेपालको दोस्रो पटक एसिया कप खेल्ने लक्ष्य यहीँ समाप्त भएको छ । युएईले फाइनलमा आजै हुने दोस्रो सेमिफाइनलका ओमान र हङकङबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल वैशाख ९ गते हुनेछ । प्रतियोगिताको विजेता टोली सन् २०२५ को टि–२० एसिया कपका लागि छनोट हुनेछ ।

Manakamana Cable Car

नेपालले जितको लागि दिएको १ सय २० रनको सामान्य लक्ष्य यूएईले ओभरमा ४ विकेटको क्षतिमा १८.२ ओभरमा पूरा गर्यो । यूएईको लागि आलिशान शराफुले ४१ बलमा ४ चौका र २ चक्कासहित ५५ रन जोडेका थिए । विष्णु सुकुमारनले २८ बलमा २८ रन, कप्तान मोहमद वासिमले ११ रन र आसिफ खानले १० रन जोडेका थिए । सायद हैदरले १४ रन तथा आयन खानले ३ रन बनाएका थिए ।

नेपालका लागि गुलशन झाले २ विकेट लिँदा सोमपाल कामी र ललित राजवंशीले समान १/१ विकेट हात पारेका थिए । त्यसअघि, अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा जम्मा १ सय १९ रन बनाउन सक्यो ।

नेपालका लागि सन्दीप जोराले ४० बलमा ५० रनको योगदान दिएका थिए । करण केसीले १२ बलमा १७ रन तथा गुलशन झाले १६ बलमा २० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कुशल भुर्तेल शून्य रनमै आउट हुँदा आसिफ शेखले ८ रन, रोहित पौडेलले ५ रन, कुशल मल्लले ३ रन, दिपेन्द्र सिंह ऐरीले ५ रन, सोमपाल कामीले २ रनमात्रै बनाएका थिए ।

नेपाललाई सस्तैमा समेट्न युएईका बसिल हामिद, जुनैद सिद्धीकी र अलि नसिरले समान २/२ विकेट लिँदा ओमिद रहमान, मोहम्मद फारुक र आयान अफजल खानले समान १/१ विकेट हात पारेका थिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update