Aarthikaina
एसीसी प्रिमियर कपमा नेपालको अपराजित यात्रा, उपाधि जिते २०२५ को एशिया कपमा

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको छ । ४ खेलमा ४ जितसँगै समूह चरणमा अपराजित रहेको नेपाल आजको खेलअघि नै सेमिफाइनलमा पुगिसकेको थियो ।

ओमानको अल अमेरात खेल मैदानमा भएको आजको खेल वर्षाले प्रभावित भएपछि २० ओभरबाट ८ ओभरमा झारिएको थियो ।  पहिले ब्याटिङ गरेको साउदी अरेबियाले नेपालसामु जितका लागि ७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । सो लक्ष्य नेपालले ७ ओभर २ बलमा नै ४ विकेटमात्र गुमाएर पूरा गर्दै समूह चरणका सबै खेलमा अपराजित रह्यो ।

नेपालका लागि गुलशन झाले १९ बलमा २ चौका  र २ छक्कासहित अविजित ३२ रन बनाएका थिए । साथै दीपेन्द्रसिंह ऐरीले १७ रन र कप्तान रोहित पौडेलले अविजित रहँदै १६ रन बनाएका थिए भने अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

Manakamana Cable Car

साउदी अरेबियाका लागि इस्तियाक अहमदले २ विकेट लिएका थिए भने उस्मान नजीव र वाजी उल हसनले समान १/१ विकेट लिएका थिए । त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले निर्धारित ८ ओभरमा ७ विकेटको क्षतिमा ७३ रन बनाएको थियो ।

साउदी अरेबियाका लागि अब्दुल वाहिदले १६ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ३७ रन बनाएका थिए । त्यसबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपालका लागि करण केसी र अभिनाश बोहोराले समान २/२ विकेट लिएका थिए भने प्रतिश जिसी र ललित राजवंशीले समान १/१ विकेट लिएका थिए ।

पहिलो खेलमा मलेशियाविरुद्ध नेपालको ५ विकेटको जित

चैत ३० गते (अप्रिल १२) मा भएको  पहिलो खेलमा नेपालले मलेशियालाई​ ५ विकेटले पराजित गर्‍यो । ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै मलेशियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १४३ रन बनाउँदै जितका लागि दिएको १४४ रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेटको क्षतिमा पूरा गरेर खेल जित्यो ।

नेपालका लागि ओपनर कुशल भुर्तेल कुल स्कोर ७ ओभर ५ बलमा ४९ रन हुँदा पवनदीप सिंहको बलमा एलबीडब्ल्यू भएका थिए । उनले २४ बल खेलेर ३ चौकाको मद्दतबाट २४ रन बनाएका थिए।

नेपालका लागि अर्का ओपनर आसिफ शेख १२ औँ ओभरमा मलेशियाली कप्तान विरनदीप सिंहको बलमा विकेटकिपर नज्मस सकिबबाट स्टम्प भएका थिए । उनले ३५ बल खेलेर ३२ बनाउँदा ४ चौका प्रहार गरेका थिए । यसपछि कुशल मल्ल ७ रन बनाएर आउट भएका थिए । महमद वफिकको बलमा क्याच आउट हुनुअघि उनले ६ बल खेलेर १ चौकाको सहायताले ७ रन बनाएका थिए । 

कुशल मल्ल आउट भएपछि क्रिजमा आएका दिपेन्द्रसिंह ऐरी १५ रन बनाएर विरनदिप सिंहको बलमा क्याच आउट भएका थिए । उनले यस क्रममा ९ बलको सामना गरि १ छक्का र १ चौका प्रहार गरेका थिए । कप्तान रोहित पौडेलले २६ बलमा १ छक्का र १ चौका हान्दै ३२ रन बनाएका थिए । १७ औँ ओभरमा नेपालको कुल स्कोर १०६ रन रहेको वेला उनलाई मलेशियाली कप्तान विरनदिप सिंहले महमद मुनियान्डीबाट क्याच आउट गराएका थिए ।

गुलशन झाले अविजित रहँदै ७ बलमा २ छक्का र १ चौका हान्दै १९ रनको पारी खेले भने सन्दिप जोरा ९ बलमा १२ रन बनाउँदै अविजित रहेका थिए । मलेशियाका लागि कप्तान विरनदिप सिंहले ३ विकेट‚ पवनदीप र महमद वकिफले समान १/१ विकेट लिएका थिए ।

खेलमा पहिले ब्याटिङ गरेको ​मलेशियाका ओपनर महमद आमिरले दिपेन्द्रसिंह ऐरीको बलमा कट एन्ड बोल्ड हुनुअघि १८ बलको सामना गरेर ३ चौकाको सहायताले १६ रन बनाएका थिए । उक्त खेलमा मलेशियाका लागि कप्तान वीरनदीप सिंहले कप्तानी पारी खेल्दै अविजित रहेर टोलीका लागि सर्वाधिक ७२ रन बनाए। उनले यसका लागि ५७ बल खेलेर ४ छक्का र ४ चौका प्रहार गरेका थिए ।

शार्विन मुनियान्डीले ३३ बल खेलेर २ छक्का र ३ चौका प्रहार गर्दै ४१ रन बनाएका थिए । अविनाश बोहराले १७औँ ओभरमा उनलाई बोल्ड गर्दा बल्ल मलेशियाको दोस्रो विकेट खसेको थियो । पहिलो छैटौँ ओभरमा कुल ३५ को स्कोरमा मलेशियाको पहिलो विकेट खसालेको नेपालले १६ औँ ओभरसम्म दोस्रो विकेट लिन सकेन । नेपालको बलिङ र फिल्डिङ केही फितलो देखिएको थियो ।

सैय्यद अजिजका रुपमा मलेशियाको तेस्रो विकेट खस्यो । १८ औँ ओभरमा १२६ को कुल स्कोरमा मलेशियाको तेस्रो विकेट खस्यो । ७ बलमा १ चौका हान्दै ६ रन बनाएका अजिजलाई दिपेन्द्रसिंह ऐरीको बलमा कुशल मल्लले क्याच आउट गरेका थिए । नज्मस सकिबले ५ बलमा अविजित ३ रन बनाएका थिए । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले २ विकेट र अविनाश बोहराले १ विकेट लिएका थिए ।

दोस्रो खेलमा दिपेन्द्रसिंह ऐरीको कीर्तिमानी छक्का

नयाँ वर्ष अर्थात २०८१ वैशाख १ गते (अप्रिल १३) नेपालले खेलेको दोस्रो खेल पनि जित्न सफल भयो । उक्त खेलमा नेपालले कतारलाई ३२ रनले हराएको थियो । नेपालले दिएको २११ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ९ विकेट गुमाएर १७८ रन मात्र बनाएको थियो ।

कतारका लागि महमद तनवीरले ६३ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । नेपालका लागि ललित राजवंशी, गुल्शन झा र दिपेन्द्रसिंह ऐरीले समान २/२ विकेट लिएका थिए भने कुशल मल्ल र अभिनाश बोहोराले समान १/१ विकेट लिएका थिए ।

दिपेन्द्रसिंह ऐरी एकै ओभरमा ६ छक्का हान्दै कीर्तिमानी खेलाडी बने । उनी एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली क्रिकेटर बने भने टी-२० अन्तरराष्ट्रिय क्रिकेटमा तेस्रो खेलाडी बने ।

दिपेन्द्रले २०औँ ओभरका ६ वटै बलमा ६ छक्का प्रहार गर्दै २१ बलमा ६४ रन बनाएका थिए । आसिफ शेखले ५२ रन र कुशल मल्लले ३५ रनको योगदान गरेका थिए । ओमानका हिमान्सु राथोड र मुसवार साहले समान ३/३ विकेट लिएका थिए ।

तेस्रो खेलमा हङकङमाथि नेपालको शानदार जित

वैशाख ३ गते (अप्रिल १५) नेपालले तेस्रो खेलमा ३४ बल खेल्न बाँकी रहँदै ८ विकेटले हङकङलाई पराजित गरेको थियो । हङकङले जितका लागि दिएको ११५ रनको लक्ष्य नेपालले २ विकेटमात्र गुमाएर पूरा गर्दै एक खेल खेल्न बाँकी रहँदै ३ खेलबाट ६ अंक जोडेर सेमिफाइनलमा पुगेको थियो ।

नेपाललाई जितका लागि २ रन चाहिएको अवस्थामा कप्तान रोहित पौडेलले विजयी चौका प्रहार गरेका थिए । उनले अविजित रहँदै २० बलमा २५ रन बनाउने क्रममा ३ चौका प्रहार गरेका थिए । अर्को छेउमा अविजित रहेका सन्दिप जोराले १७ बलमा १९ रन बनाए । उनले १ छक्का र १ चौका प्रहार गरेका थिए ।

यसअघि ३२ रन बनाएर ओपनर ब्याटर कुशल भुर्तेल छैटौँ ओभरमा आउट भएका थिए । उनी आउट भएलगत्तै अर्को ओभरमा ४० रन बनाएर अर्का ओपनर आसिफ शेख पनि आउट भएका थिए ।

नेपालको कुल स्कोर ५ ओभर ३ बलमा ७० रन हुँदा कुशल भुर्तेल आउट भएका थिए । उनले आफ्नो पालीमा १९ बल खेलेर २ छक्का र ३ चौकाको मद्दतले ३२ रन बनाएका थिए ।

आसिफले १८ बल खेलेर ३ छक्का र ३ चौका प्रहार गरे। उनी सातौँ ओभरको अन्तिम बलमा आउट हुँदा नेपालको कुल स्कोर २ विकेटमा ७६ रन थियो । हङकङका लागि एहशान खान र यासिम मुर्तजाले समान १/१ विकेट लिएका थिए ।

उक्त खेलमा ओमानको अल अमिरात मैदानमा टस जितेर नेपालले फिल्डिङ गर्ने निर्णय लिएपछि पहिले ब्याटिङमा तानिएको हङकङ १७ ओभर ५ बलमा अलआउट हुँदै ११४ रनमै समेटियो ।

हङकङका लागि अन्श्या रथले सर्वाधिक ३४ तथा जिशान अलीले १४ रन जोडे पनि अन्य ब्याटरले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ अभिनाश बोहराले सर्वाधिक ३ विकेट लिए। दिपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले समान२/२ विकेट लिँदा करण केसीले एक विकेट हात पारेका थिए ।

सन् २०२५ को एशिया कपमा पुग्ला नेपाल ?

समूह चरणका चारै खेलमा अपराजित रहेको नेपालले सन् २०२५ मा हुने एशिया कपमा पुग्नका लागि अब दुई वटा खेल बाँकी छन्‚ जुन अब हुने सेमिफाइनल र फाइनल हुन् । 

​सन् २०२५ को एशिया कपमा सोझो प्रवेशका लागि एसीसी प्रिमियर कपको डिफेन्डिङ च्याम्पियन नेपालले ती दुवै खेल जित्नैपर्छ अर्थात् यो प्रतियोगिताको च्याम्पियन बन्नै पर्छ । 

नेपालले शुक्रवार समूह बी को उप-विजेतासँग सेमिफाइनल खेल्नेछ। समूह ए बाट नेपालको जितले हङकङ उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।  

समूह बी मा भने ओमानले ३ खेलमा तीनै जित हात पार्दै सेमिफाइनलको यात्रा तय गरिसकेको छ। आज कुवेतलाई हराउन सके ओमान समूह विजेता हुँदै सेमिफाइनलमा हङकङसँग खेल्नेछ ।

आजै भइरहेको यूएई र कम्बोडियाबीच भइरहेको खेल यूएईले जिते समूह उपविजेता भन्दै नेपालसँग खेल पक्का गर्नेछ । कम्बोडियाले खेल जितेमा रनरेटको आधारमा यूएई र कुवेतमध्ये एउटा सेमिफाइनलमा पुग्नेछ ।

१० राष्ट्र सहभागी यो प्रतियोगिता यस पटक टी-२० ढाँचामा भइरहेको छ । यसअघिको प्रतियोगिता भने एकदिवसीय ढाँचामा खेलाइएको थियो । प्रतियोगिताको विजेताले टी-२० एशिया कप र शीर्ष ३ टोलीले एसीसी इमर्जिङ टिम्स एशिया कप खेल्न पाउनेछन् ।

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update