काठमाडौं । चौधरी समूहले उत्पादन गरिरहेको वाइवाइले सर्वसाधारणलाई साधारण सेयर(आईपीओ) बिक्री गर्ने जानकारी दिएको छ । कम्पनीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमार्फत वाइवाइको आईपीओ जारी गर्ने जानकारी दिएका हुन् ।
वाइवाइ चाउचाउ उत्पादक कम्पनी सिजी फुड्सले सन् २०२६ भित्रमा प्राथमिक सेयर निष्कासन(आइपीओ) जारी गर्ने सोच बनाएको छ । चौधरी समूहको मुख्य लगानी रहेको सिजी फुड्सले नेपाल र भारत दुबै मुलुकमा एकै वर्ष आइपीओ निकाल्ने गरि तयारी गरिरहेको जनाएको छ ।
आइपीओ निकाल्न लागिएको जानकारी चौधरी समूहका अध्यक्ष विनोद चौधरीका छोरा निर्वाण चौधरीले टिवट्(एक्स)मार्फत जानकारी गराएका थिए । कम्पनीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले टिवट् गर्दै लेखेका छन्, ‘तपाईंहरूलाई मनपर्ने चाउचाउको आइपिओ जारी गर्ने योजनामा छौं । यो कुरा तपाईंहरू सबैसँग बाँड्न पाउँदा एकदमै खुसी र उत्साहित छौं ।’ निर्वाण चौधरीले सामाजिक सञ्जालमार्फत आईपीओ बिक्री गर्ने जानकारी सार्वजनिक गरेपनि वाइवाइले यसको प्रक्रिया भने अघि बढाएको छैन ।
यसले नेपालका उत्पादनमूलक उद्योगहरु आईपीओतर्फ केन्द्रीत बनेको देखाउँछ । यसअघि युनिलिभर, बोटलर्स नेपाल, सर्वोत्तम सिमेन्ट, शिवम् सिमेन्ट र घोराही सिमेन्टलगायत सेयर बजारमा सूचीकृत छन् । यसबाहेक रिलायन्स स्पिनिङ मिल्सले समेत साधारण सेयर बिक्री गर्ने प्रक्रियामा छ ।
नेपाल धितोपत्र बोर्डका अनुसार हाल १९ वटा कम्पनी साधारण सेयर बिक्रीको अनुमतिको पर्खाइमा छन् । यस्तै, थप १६ वटा कम्पनीले समेत अनुमति मागेका छन् । बोर्डले ती कम्पनीको अनुमतिमाथि अध्ययन गरेर थप डकुमेन्ट मागेको छ ।