Aarthikaina
लगनखेल मंगलबजारबाट फुटपाथ हटाउन माग 

ललितपुर । ललितपुरको लगनखेलदेखि मंगलबजारसम्म बढ्दै गइरहेको फुटपाथे व्यापारी अर्थात अव्यवस्थित सडक व्यापारीको सर्वत्र विरोध हुन थालेको छ । बाटो हिड्ने बटुवादेखि सवारी चापको अस्तव्यस्तताले स्थानीयवासीहरु पीडित हुँदै गइरहेका बेला त्यहाँको बजारको दृश्य, प्रदुषण, जताततै फोहर र पसल कवलहरुमा समेत व्यापार हुन छोडेपछि यसको सर्वत्र विरोध हुन थालेको हो ।

सडक व्यापारीलाई हटाउनु पर्ने माग गर्दै स्थानीय व्यापारी रमण श्रेष्ठ  भन्छन्, ‘हामीले घरको बहाल तिर्नु पर्छ, कामदारलाई तलब, नगरपालिकालाई अनेक प्रकारको कर, फोहर उठाउनेलाई पैसा सबै तिरेर पनि ग्राहकलाई बिल दिनुपर्छ तर सडक व्यापारीले यी कुनैपनि भार ब्यहोर्नु पर्दैन । त्यसमाथि कम गुणस्तरको सामग्री सडकमा राखेर बेच्दा पनि कतैबाट कसैले कारवाही गर्दैन यस्तो विभेद बन्द हुनुपर्दछ ।’  

उनी थप्छन्, ‘उपभोक्ताहरुलाई पनि उपभोग्य सामग्री, खानेकुरा, तरकारी, फलफुलैपनि सडकमा बेच्नेहरुले सस्तोको नाउँमा तल्लो गुणस्तरको मात्र बेच्ने गरिरहेका छन् भने किनेको सामान साटफेर गर्नु पर्यो भने फिर्ता हुन सकिरहेको छैन् । र, नगरपालिका कर पाउनबाट समेत बञ्चित हुनुपरिरहेको छ ।’

Manakamana Cable Car

सडक व्यापारीका कारण ललितपुर महानगरपालिका आफैंले सञ्चालन गरिरहेको गावहालस्थित धपगा बजार, लगनखेलको तरकारी बजार, लगँवहीदेखि प्रयागपोखरी हुँदै मंगलबजारसम्मका भित्री चोकचोकमा सञ्चालित बजार ठप्पै हुने स्थितिमा पुगेको स्थानीय व्यापारीहरु बताउँछन् । नगरपालिकाका नगरप्रहरीहरुकै अगाडि सडक व्यापारीलाई अस्तव्यस्त छोडिदिनाले ललितपुर महानगर पनि काठमाडौंका मेयर बालेनले फुटपाथे व्यापारी हटाउनु भन्दा अघिकै जस्तो नाक खुम्च्याउनुपर्ने स्थिति आएको स्थानीय व्यापारीहरुले बताउन थालेका छन् ।

हुन त ललितपुर महानगरपालिकालाई व्यवस्थित नगरपालिकाको अन्तर्राष्ट्रिय अवार्ड प्राप्त भएको छ तर लगनखेलदेखि मंगलबजारको अस्तव्यस्त सडक व्यापारले गर्दा त्यो सम्मानले गिज्याईरहेको अनुभुति गर्न सकिन्छ । काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारीलाई हटाएपछि त्यहाँका व्यापारीहरु पनि हाल ललितपुरमा पल्कन थालेको स्थानीय व्यापारी सुनाउछन् ।

काठमाडौंको फुटपाथे समस्यालाई हामीले धान्नु हुदैन स्थानीयहरुले बताएका छन्  । जबजब मानिसहरु कामबाट आवत जावत गर्ने बेला भैरहेको हुन्छ, स्कुल क्याम्पसका विद्यार्थी र यात्रुहरु ओहरदोहर गरिरहेका हुन्छन् तबतब सडक व्यापारीहरुले विभिन्न उपभोग्य सामग्रीदेखि खानेकुरासम्म बटुवाका मुखमुखमा लगेर भिराउन तछाडमछाड गर्ने गरेको स्थानीयको गुनासो छ । उनीहरुका अनुसार बसपार्क पनि लगनखेलमा नै रहेको कारण पार्किङगमा समेत ठुलो समस्या आईरहेको छ र त्यस्तो आशोभनीय व्यापारलाई व्यवस्थापन गर्नुपर्नेमा उल्टै ललितपुर नगरप्रहरीले सड्क व्यापारीलाई खुल्लमखुल्ला छोडेको छ ।  

नाम नछाप्ने सर्तमा एक  स्थानीय व्यापारी भन्छन्, ‘ललितपुरमा पनि काठमाडौंमा जस्तै बैकल्पिक ठाउँको व्यवस्थापन वा पहिले संचालित तरकारी, फलफुल वा उपभोग्य सामग्री व्यापार गर्ने ठाउँलाई सुधार गरी चालु गर्नुपर्छ अन्यथा हामी पनि पसल कवल बन्दगरी सडकमा नै आउन बाध्य हुने छौं ।’

कतिपयले त पसल कवलको व्यापार नचलेपछि फुटफाटमा पनि राख्ने गरेका छन् भने थुप्रै सडक व्यापारी नगरप्रहरीकै आफन्तहरु पनि हुने गरेको विगत २० वर्षदेखि काठमाडौंमा सडक व्यापार गरिरहेका तर हाल लगनखेलमा रहेका नवराज अधिकारी बताउँछन् । उनी सडक व्यापारलाई बैकल्पिक ठाउँको व्यवस्था हुनैपर्ने अन्यथा स्वरोजगार व्यापारलाई कुनैपनि हालतमा नछोड्ने दावी गर्छन । तर कर,घर वहाल र सफाईको बेवास्था गरेर पनि कम गुणस्तरको खाद्य वा उपभोग्य सामग्री बेचिन्छ भन्छ नि भन्ने प्रश्नको जवाफमा अर्का सडक व्यापारी सुशिल शर्मा मरहठठा जवाफ  फर्काउँछन् ,त्यो त उपभोक्ता आफैंले छान्न जान्नु पर्दछ । छान्न जाने भने गुणस्तरीय सामानहरु एकदम सस्तोमा पाईने दावी उनको छ ।

यस सम्बन्धमा ललितपुर महानगरपालिका प्रमुख सिताराम हाछेथु भने लगनखेलको बसपार्क समेत अन्यत्र स्थानान्तर गरी सो स्थानलाई परम्परागत असन बजारकै रुपमा प्रवद्र्धन गर्ने सोच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ल्याएको बताउछन् । उनी भन्छन्, ‘ललितपुर नगरपालिकाभर कतैपनि हामीले फुटफाट राख्न दिएका छैनौ तर लगनखेलदेखि मंगलबजारसम्मको परम्परागत बजारलाई पनि हटाउने हो भने एकातर्फ सानो सानो लगानीमा भैरहेको स्थानीय उत्पादनले बजार नपाउने हुन्छ भने अर्कोतर्फ सयौं साना व्यापार व्यवसायीहरुले गरिरहेको स्वरोजगारबाट विस्तापित हुनुपर्छ ।’ 

लगनखेलमा सडक व्यापारीहरु अस्तव्यस्त स्थितिमा नरहेको सि.सि. फुटेजसमेत देखाउँदै नगरप्रहरी प्रमुख हाछेथुले लगनखेलदेखि मंगलबजारसम्मको फुटफाट व्यापार  वटुवा हिड्ने पेटी र गाडि हिड्ने सड्कमा राख्न नदिएको दावी गरे ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update