Aarthikaina
अध्यात्मले समाजलाई परिवर्तन गर्न सकिन्छ: मन्त्री चौधरी

सुनसरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सुनसरीको धार्मिक एवं पर्यटकीय स्थल बराहक्षेत्र नगरपालिका–१ चतरा धाममा जारी बाह्रबिसे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलालाई सम्बोधनका क्रममा धार्मिक आस्था, आध्यात्मिक कुराले अहिलेको समाजलाई परिवर्तन गर्न सकिने बताएकी छन् । 

मन्त्री चौधरीले भनिन्, ‘धर्म, कर्म, आध्यात्मिक चिजले खाली हामी परमधाम, परमपिता अथवा स्वर्गमा जान्छौ भन्ने आशा, भरोसा र आस्था मात्रै होइन । अहिलेको समाज धेरै तडकभडक, धेरै प्रतिस्पर्धात्मक छ सँगै अस्वस्थ प्रतिस्पर्धा छ । यो अस्वस्थ प्रतिस्पर्धालाई चिर्न, तडकभडकपूर्ण समाजलाई चिर्नका लागि हरेक राजनीतिज्ञ, हरेक व्यवसायी वा आम व्यक्तिमा धार्मिक आचरण हुनुपर्छ ।’

हरेक व्यक्तिमा धार्मिक आचरण भएमा समाजमा जुन प्रदूषित तरिकाले अस्वस्थ प्रतिस्पर्धा भइरहेको छ, त्यो अस्वस्थ प्रतिस्पर्धालाई स्वस्थ बनाउन सकिने समेत उनको भनाई थियो । स्वस्थ, सभ्य, असल, संस्कारी समाज बनाउनका लागि आध्यात्मिक शिक्षाले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ । 

Manakamana Cable Car

आफूलाई जहिले पनि न आस्तिक, न नास्तिक भन्दै गर्दा पनि ओम शान्तिको दिदीबहिनीहरूको आग्रहका कारण आफू पनि केही कुरा जान्ने, बुझ्ने र केही सुन्थे गरेको उनले बताइन् । नेपाली भूमि हिन्दु सनातनीहरूको ठुलो पावन भूमि रहेको भन्दै मन्त्री चौधरीले इतिहासको कालखण्डमा लिखित हिन्दु सनातनीमा मात्र नभएर अनेक इतिहासहरूले कोरिएको कौशिक नदिको नाम जोडिएको भूमिका हिसाबले पनि चतराधाम महत्त्वपूर्ण रहेको बताइन् ।

अध्यात्म, मेडिटेसन पनि मान्छेको मल्टिपल इन्टेलिजेन्स भएको भन्दै उनले भगवान् बुद्धले पनि त्यो समयमा मेडिटेसन, ध्यान गरेर बुद्धत्व प्राप्त गरेको बताइन् । आध्यात्मिक कुराहरू धेरै महत्त्वपूर्ण कुरा भएको वैज्ञानिकले साबित गरेको समेत उनले बताइन् । भारतमा पनि १२ वर्षमा ठुलो कुम्भ मेला लाग्ने गरेको प्रसङ्ग उल्लेख गर्दै मन्त्री चौधरीले यस्ता धार्मिक मेलाहरूले मुलुकको पर्यटकीय सँगै आर्थिक विकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताइन ।

‘चतरा धाम, बराह क्षेत्रमा जुन कुम्भ मेलाको सुरुआत भयो । इतिहासको कालखण्डमा हाम्रा ऋषि मुनीहरूले तपजप गर्ने यो महत्त्वपूर्ण ठाउँ । यो कुम्भ मेलाको सुरुआत गर्दाखेरि तपाईंहरूले कति धेरै कुरा व्यहोर्नु भएको होला’, उनले भनिन्, ‘भारतमा पनि तपाईंहरूले सुन्नुभएको छ त्यहाँ पनि १२ वर्षमा कुम्भ मेला लाग्छ । कुम्भ मेलाले आन्तरिक पर्यटक, नेपालका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक सँगसँगै एसियन क्षेत्रका पर्यटकहरू त्यहाँ आउँछन् । त्यसरी नै नेपालमा पनि कुम्भ मेला लगाइरहँदा यो भूमिलाई पावन बनाउनका लागि सरकार तथा हामी सबै मिलेर भूमिका निर्वाह गर्न जरुरी छ ।’

बराहक्षेत्र चतरा एक महत्त्वपूर्ण धार्मिक गन्तव्य भएको भन्दै उनले धार्मिक गन्तव्यहरूको विकास र प्रवर्द्धन गर्नका निम्ति सबै केन्द्रित हुनुपर्ने बताइन् । उनले भनिन्, ‘संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर यो ठाउँको विकासका निम्ति भूमिका खेल्नुपर्छ ।’ त्यहाँ आवश्यक विकास निर्माण, सुरक्षा व्यवस्था सबै हिसाबले बनाउनका निम्ति सबैले हातेमालो गर्नुपर्ने उनको भनाई थियो ।

उनले भनिन्, ‘बराहक्षेत्र चतरा धामलाई उत्कृष्ट धार्मिक गन्तव्य बनाउन सकेमा हिन्दु धर्मावलम्बीहरूले नेपाल र भारतको मात्र होइन एसिया क्षेत्र तथा विश्वकै हिन्दु धर्मावलम्बीहरूलाई आकर्षित गर्न सक्छौं । सँगसँगै हामी कसरी आर्थिक रूपले पनि सम्पन्न हुन सक्छौँ भन्नेतर्फ ध्यान दिन आवश्यक छ । हिन्दु सनातनी भारतमा बढी होला । त्यसपछि नेपालमा होला । त्यसकारण त्यहाँका पर्यटकको आकर्षण गर्न सकेमा आर्थिक रुपमा पनि सम्पन्न हुन सकिन्छ । जसले गर्दा अन्य धर्मावलम्बीहरू पनि प्रोत्साहित हुन सक्छन् ।’

मन्त्री चौधरीले बराहक्षेत्र चतरा भूमिको विकासका निम्ति राज्यको तर्फबाट गर्न सकिने सहयोग गरिने प्रतिबद्धता समेत व्यक्त गरिन् । मुलुककै ठुलो धार्मिक गन्तव्यको रुपमा विकास गर्नका निम्ति सबै लाग्नुपर्ने भन्दै उनले  बराह क्षेत्र चतरा धामको विकासमा निम्ति मन्त्रालयका तर्फबाट पनि सहयोग गरिने प्रतिबद्धता व्यक्त गरिन् । त्यस्तै उनले अन्य सम्बन्धित मन्त्रालयहरूमा पनि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् । साथै, आध्यात्मिकले खराब नगर्ने भन्दै उनले यसले समाजलाई शुद्धीकरण गर्ने समेत बताइन् । समाजलाई शुद्धीकरण गर्नका निम्ति धार्मिक गुरु, अनुयायीहरूको पनि महत्‍वपुर्ण भूमिका हुने उनको भनाई थियो ।

त्यस अवसरमा कुम्भ मेलाका परिकल्पनाकार एवम् जगत् गुरु बाल सन्त मोहनशरण देवाचार्यले भगवती चौधरी अरू जस्तो पुलिसलाई ढुङ्गा हानेर नेता भएको मान्छे नभएको भन्दै एकेडेमिक क्वालिफाइड नेता भएको भन्दै प्रशंसा गरेका थिए ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  २२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update